धनगढी । २६ गते बाट सुरु भएको दोस्रो एश्वर्य कपमा विवाद सिर्जना हुदाँ एक जना खेलाडी घाईते भएका छन् । हिजो २९ गते सम्पन्न हुने भनेता पनि अन्तिम खेलमा आएर बझाङ् र अछामका खेलाडीका बिचमा विवाद सिर्जना भएको थियो । खेल हिजो अन्तिममा आएर स्थगित भए पछि आयोजकले आफैँ निर्णय गर्छु भनेर जानकारी गराएको थियो । खेल अवरुद्ध भएको करिब १ घण्टा पछि खेलाडीलाई आयोजककै समुहबाट धनगढीको अपि सैपाल थकालीमा खाना खाने बेलामा आयोजक एश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्को नेतृत्वमा आएको २० देखि २५ जनाको समूहले खेलाडीहरुलाई अश्लिल गाली दिनुका साथै बझाङबाट खेलेका खेलाडी सुरेन्द्र भाटलाई गम्भिर रुपमा घाइते पारेको बझाङका खेलाडीको आरोप छ ।
घाइते खेलाडी भाटको हिजो रातिबाट नै भर्ना गरेर मायामेट्रो अस्पतालामा उपचार भैरहेको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस बझाङको टिमका प्रशिक्षक सिंहले बताए । खेलाडीको बिचमा भएको सामान्य विवादमा आयोजक स्वयंले खेलाडीहरुमाथि गरेको दूव्र्यवहार र राति अबेरमा खाना खाने बेलामा आएर ज्यानै लिने मनोसायले खेलाडीलाई कुटेको प्रति आफुहरुको घोर आपत्ति रहेको बझाङका टिम क्याप्टेन महेश खत्रीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
खेलाडीहरुको सिङ्गो टोली जाहेरी दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा गैैसकेको भएता पनि निवेदन लिन प्रहरी कार्यालयले आनाकानी गरेको समेत प्रशिक्षक सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
यस्तै खेल मैदानबाट सुरु भएको विवाद खाना खाने स्थान अपि सैपाल थकालीमा आएर उग्ररुपमा परिणत भए पछि अपि सैपाल थकालीमा पनि भौतिक क्षति भएको छ । दुई पक्ष बिच भएको झडपमा थकालीका टेबुल , कुर्सी लगायत एक थान मोबाइलमा क्षति भएको सञ्चालक राम बहादुर बोहराले बताए ।