धनगढी । स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि पोषणमा सुधार गर्ने कोदो खेती भने घट्दै गइरहेको छ । पालिकाले कोसेलीका नाममा सुत्केरी महिलालाई अन्डा, घिउका डब्बा र कुखुराको भाले बाँडे पनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापर खेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुषोषण बढेको छ ।
स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक २०७९र८० मा एक हजार ९३४ जना बालकालिका कुपोषित भेटिएका छन् । यीमध्ये ३१२ जना बालबालिका कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा तौल निकै कम छ भने अनुहार पनि ख्याउटे भएको पाइएको छ । पोषण सुधार गर्न स्थानीय तहले कृषि, पशु र स्वास्थ्य कार्यालयसँग समन्वय बढाउनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । उनले स्थानीय बाली कोदो, फापर, चिनो र मादुरो खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
स्थानीय तहले रैनाथे बालीलाई प्रोत्साहन नगर्दा मेलौली नगरपालिका–९ मा ३५६ परिवारमध्ये ६० परिवारले मात्रै कोदो खेती गरेका छन् । वडाभरि जम्मा ३४ परिवारले मात्रै गहतको दाल खेती गरेका छन् । गाउँबाट युवा पलायन भएपछि अधिकांश जमिन बाँझो रहेको छ । यहाँ वार्षिक ९० लाख रुपियाँको चामल आयात हुने गरेको वडाध्यक्ष लोकराज भट्टले बताए ।
यस्तै अवस्था अन्य पालिकाको पनि रहेको छ । जिल्लालाई वार्षिक ५८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा ठुलो परिमाणमा चामल आयात हुने गरेको छ । पोषणमा सुधार गर्ने रैनाथ बाली हराउँदै जान थालेपछि कुषोषण बढेको छ । जिल्लाका १० स्थानीय तहमा करिब दुई हजार हाराहारीमा कुपोषित बालबालिका भेटिएका छन् ।