धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ ।
चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक टेबुल गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश प्रतिस्थापन विधेयकलाई सदनमा टेबुल गरे । सो क्रममा उनले बजेट र त्यससँग सम्बन्धित ऐन कानुन पास हुन नसकेपछि उत्पन्न शून्यताको अवस्था भङ्ग गर्न र राजस्व सङ्कलन नियमित गर्न प्रदेश सरकारले अध्यादेश ल्याउनु परेको बताए ।
यसै गरी मन्त्री थापाले महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन २०७९, प्रदेश लोक सेवा आयोगको तृतीय वार्षिक प्रतिवेदन र आव २०७९र८० को मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सदनमा पेस गरे । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनलाई छलफलका लागि सार्वजनिक लेखा समिति र प्रदेश लोक सेवा आयोग तथा मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।