धनगढी । सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर। लम्कीचुहा नगरपालिका(३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ, तीर्थ बाजा पसल।
यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छ। पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन्, तीर्थ बादी। पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ। यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउँछन्। ‘पहिले चाडपर्वहरूमा मादल पुर्याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन। मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन् ।
विगतमा यही पेशाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौधौ भएको तीर्थको गुनासो छ। ‘योपटक पनि २५ वटा मादल बनाएर राखेँ। तीज आएपछि त बिक्री होलान् सोचेको थिए तर तीज सकियो, एउटा पनि मादल बिक्री नभएको उनले बताए ।
प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउँछन्। ‘सिजनका बेला ५०(६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार÷पाँच वटा बेच्न मुस्किल पर्छ , उनले भने, ‘पहिले यही व्यवसायबाटै घर खर्च, छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ, त्यही पनि बिक्दैन।’
नेपालको पहिचानका रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ।