धनगढी । घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बीमा सेवा सुुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बीमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।
सोमबार घोडाघोडी नगरपालिका र स्वास्थ्य बीमा बोर्ड बिच सेवा सम्झौता भएको हो । सेवा सम्झौता पत्रमा स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावत , घोडाघोडी नगर अस्पतालका मेडिकल अधिकृत हेमनाथ आचार्य र स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनकबहादुर साउद ,जिल्ला संयोजक अनमोल रावलले हस्ताक्षर गरे ।
सेवा सम्झौता पत्रमा बीमा बोर्ड र नगर अस्पालतले पालना गर्नुपने सर्तहरु उल्लेख गरिएको छ । उल्लेखित सर्त अनुसार पहिलो पक्ष मानिएको स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमबारे जानकारी गराउने, दोस्रो पक्षको रुपमा रहेको नगरअस्पताललाई तोकिएको दरमा बहिरंग सेवा, आकस्मिक सेवा र अन्तरंग सेवाको भुक्तानी गर्ने रहेको छ ।
त्यसैगरी दोस्रो पक्ष मानिएको घोडाघोडी नगरअस्पतालले बीमितको क्रियाशिल अवधिभित्र उल्लेख भए बमोजिमको सेवा सुविधा गुणस्तरिय रुपमा प्रदान गर्ने, आफ्नै परिसरमा औषधी वितरण कक्षको व्यवस्थापन गर्ने, बीमितलाई तोकिएको सेवा तथा औषधीहरु निरन्तर उपलब्ध गराउने सेवा सम्झौतामा उल्लेख छ ।
पाँच वर्षका लागि गरिएको स्वास्थ्य बीमा सेवा कार्यक्रम २०८१ साल असोज १ गते देखि लागूहुने स्वास्थ्यशाखा प्रमुख कैलाशकुमार रावतले बताए ।