धनगढी: कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर २ घर भएका नरेश भट्ट ८ वर्ष अघिसम्म नेपालमै थिए । छिमेकी जिल्ला कैलालीको सदरमुकाम धनगढीमा उनी चिकित्सा प्रतिनिधि (एम.आर) को रुपमा काम गर्दै आएका थिए । धनगढीकै सेती प्रादेशिक अस्पताल लाइनमा रहेका दुई मेडिकलमा उनको लगानी पनि थियो । नरेशका एक जना परिवारका सदस्यले भने, ‘धनगढीमा व्यापार व्यवसाय रामै्र चलेको थियो । तर, उनी ०७३ साल साउन १४ मा अमेरिकाका लागि उडे ।’ अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे ।
यूएस आर्मीमा भर्ती हुने उद्देश्यसहित अमेरिका पुगेका नरेशलाई आफ्नो उद्येश्य पूरा गर्न धेरै समय लागेन । अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । त्यसको जानकारी उनले सामाजिक सञ्चाल फेसबुकमार्फत दिएका छन् । यूएस आर्मीमा भर्ती भएका नरेश बेलाबेला नेपाल आइराख्थे । अहिले उनी यूएस आर्मीको आईटी विभागमा कार्यरत थिए । ५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग भट्टको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढ्यो । ०७७ साल मंसिर २५ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । झण्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिइन् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी ममता साउन १६ (जुलाई ३१) देखि बेपत्ता छिन् । उनको हत्या श्रीमान् नरेशले गरेको प्रहरीले पुष्टि गरेको छ । ममताको हत्या गरेको आरोपमा नरेश पक्राउ परेका छन् ।
बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेको नरेशलाई शुक्रबार अदालत उपस्थित गराएको थियो । उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ । नरेशले ३० जुलाइमा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । अदालतमा पेस गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रमाण फेला परेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । प्रमाणका रुपमा बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ ।
अभियोजकहरूले जुलाई ३० मा नरेशले तीनवटा चक्कु किनेको र त्यसको भोलिपल्ट सफाइका लागि आवश्यक सामग्री किनेको भेटिएको बताएका छन् । नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ । उनले मनासस पार्कमा रहेको आफ्नो घर बिक्री गर्ने तयारी पनि गरेका थिए । केही दिनअघि मात्रै उनले आफ्नो टेस्ला गाडी भने बिक्री गरिसकेका थिए । उनले छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् । यता नरेश पक्राउ परेको र उनलाई श्रीमतीको हत्या गरेको आरोप लागेको खबरमा परिवार र आफन्तले विश्वास गर्न सकेका छैनन् । ‘हामीले पनि मिडियामार्फत नै यस्ता खबर सुनिरहेका छौं,’ नरेशका एक आफन्तले भने, ‘तर, विश्वास लागिरहेको छैन । हाम्रो जानकारीमा त ममता र नरेशबीच अहिले पनि राम्रै सम्बन्ध थियो ।’ सिलापत्रबाट