धनगढी । प्रदेश सरकारमा बजेट शून्यता हुँदा त्यो प्रभाव जिल्ला अस्पताल बाजुरामा परेको छ । सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेपछि जिल्ला अस्पताल बाजुरामा बजेट अभावका कारण औषधी खरिद गर्न समस्या भएको हो ।
जिल्ला अस्पतालमा निःशुल्क पाइने सिटामोल झोल सकिएको हुँदा थप औषधी खरिद गर्न बजेट नहुँदा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। समिता पुनले जानकारी दिए । सबै खालका अत्यावश्यक औषधी भए पनि थप औषधी खरिद गर्न समस्या भएको उनको भनाई छ । जिल्ला अस्पतालमा औषधी अभाव भएको हल्ला फैलाइए पनि औषधीको अभाव भन्नुभन्दा पनि यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सबै पक्षको ध्यान जान जरुरी छ । जिल्ला अस्पताल बाजुरामा औषधी खरिदका लागि प्रदेश सरकारबाट मात्र बजेट विनियोजन हुन्छ ।
जिल्ला अस्पताल बाजुरालाई बजेट व्यवस्थापन गर्न स्थानीय सरकार मौन देखिएको छ । यति बेला प्रदेश सरकार नै बजेटको शून्यतामा भएपछि औषधी खरिद गर्न चुनौती भएको बेला स्थानीय सरकार नै मौन भएको बाजुरा अस्पतालका सूचना अधिकारी निर्पराज गिरीले बताए ।
जिल्ला अस्पताल बाजुरामा १८ जना कर्मचारीको दरबन्दी छ । अहिले १८ जनामध्ये मेडिकल अधिकृत, हाडजोर्नी तथा नसा रोग विशेषज्ञसहित १० जनाले अस्पतालमा सेवा दिँदै आएका छन् । पछिल्लो समय धेरै जटिल समस्याबाहेकका सबै उपचार अहिले जिल्ला अस्पताल बाजुरामै हुने गरेका छन् । विषेशज्ञ डाक्टरद्वारा गाइनो, अर्थोलगायतका अन्य अपरेसन जिल्ला अस्पतालमै गर्ने गरिएको सूचना अधिकारी गिरीले जानकारी दिए ।