धनगढी: सुदुरपश्चिमको बजेट आउन एक साता बढी लाग्ने देखिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले भदौ २० गते बजेट आउने बताएपनि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाहेक अझैँ अन्य मन्त्रालयहरुबाट आर्थिक मामिला मन्त्रालयमा बजेट पेस हुन सकेको छैन । आर्थिक मामिला मन्त्री बहादुर सिहं थापाका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मात्रै बजेट टुग्यांइएको छ । अन्य मन्त्रालयले बनाएको बजेट आर्थिक मामिलामै पेस नभएका कारण सो बजेटमा छलफल गरी टुग्यांउन समय लाग्ने देखिएको छ । भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्रालय, उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय लगायतको बजेट भोली पर्सीनै हामीकहाँ पेस हुन्छ होला अनी छलफल गरेर टुग्यांउँछौँ मन्त्री थापाले स्टेटसेभेन अनलाइन सगं भने “भौतिक पुर्वाधार र सामाजिक बिकास मन्त्रालयका क्षेत्र र बिभाग धेरै हुँदा कम्तिमा ३ दिन अझैँ लाग्ने भन्नुभएको छ, ३ दिनपछि आर्थिक मामिलामा पेस भए, छलफलका लागी कम्तिमा हामीलाई ३ दिन समय लाग्छ र बजेटको अन्तिम रुप दिन २ दिन समय लाग्छ, त्यसपछि मात्रै ससंदमा बजेट प्रस्तुत हुने छ ।”
आर्थिक बर्ष २०८१/८२ को वार्षिक बजेट नयाँ ल्याइएको भए सहज हुने थियो थापाले भने “तर हामी पुरानै बजेटलाई परिमार्जन गरेर ल्याउने तयारीमा भएका कारण अझँ गहन रुपले अध्यायन गर्नुपर्ने देखिएको छ, त्यसो हुँदा बढी समय लागिरहेको छ, मुख्यमन्त्री ज्युले २० गते बजेट आउँछ भन्नुभएको थियो, मैले त मिति नतोकौँ भनेको, अली समय दिनैपर्ने देखियो, हाम्रा कारण भन्दापनि बिगतको सरकारका कारण यो स्थिती आएको हो, अब राम्रो सगं परिमार्जन गरेरै बजेट आउँछ, यो मसान्तभित्र प्रदेशसभामा बजेट पेस हुन्छ ।” बजेट पास नहुँदा कर्मचारीहरुले समेत दुई महिनासम्म तलव भत्ता पाउन सकेका छैनन् दशैँ पनि बिग्रिने त होइन भन्ने प्रश्नमा थापाले दशैँ मनाउने गरी बजेट आउने बताए ।
तत्कालिन मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारले गत १ असारमा प्रदेशसभामा पेश गरेको बजेट पारित नहुँदै सरकार फेरिएको थियो । कांग्रेस नेता कमलबहादुर शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले पेश गरेको बजेट नै परिमार्जन गर्न खोजेको छ । बजेटको आकार भने पहिलेकै हाराहारीमा आउने जनाइएको छ । सोडारी नेतृत्वको सरकारले गत असार १ गते ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो । सरकारले बजेट शून्यताको अवस्था अन्त्य गर्न २४ साउनमा राजश्व संकलनसम्बन्धी सामयिक कर अध्यादेश २०८१ ल्याएको थियो ।