धनगढी । सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकारमातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा सञ्चालित डडेलधुरा अस्पताल छ । सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा प्रदान गर्ने गरी स्थापित यस अस्पतालले विशेषज्ञ डाक्टर कुरिरहेको पाइएको छ ।
चिकित्सक नहुँदा बिरामी कैलालीको धनगढी र भारतका विभिन्न निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य छन् । २०४० सालतिर डडेलधुरामा अमेरिकी डा। मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गरेका थिए । सो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत यहाँका नागरिकलाई स्वास्थ्य सेवा दिइयो । सो अस्पताल २०५१ सालमा ५० शøयामा स्तरोन्नति भयो । २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय अस्पताल सय शय्याको बनाइयो ।
डडेलधुरा उपक्षेत्रीय अस्पताललाई २०७५ साल फागुन ३ को मन्त्रीपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले मोरङको कोशी अञ्चल अस्पताल, पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताल, डडेलधुरालाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । डडेलधुरा अस्पताललाई सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लाको केन्द्रमा रहेर सेवा दिने गरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो । विशिष्ट विशेषज्ञ अस्पताल पाँच शय्याको हुनु पर्छ तर यो अस्पतालमा हाल एक सय शय्या सञ्चालन भइरहेको छ । अस्पतालले हाल १४ वटा विभाग कायम गरेर त्यसै अनुरूप सेवा प्रदान गरिरहेको छ ।
विशिष्ट विशेषज्ञ अस्पताल भनिए पनि पुरानै उपक्षेत्रीय अस्पताल हुँदाको दरबन्दी पनि झन्डै आधा खाली छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारबाट १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । विशेषज्ञ चिकित्सकको मात्रै स्वीकृत स्थायी दरबन्दी १७ जनाको रहेको अस्पतालका सूचना अधिकारी डा। आशिष अधिकारीले जानकारी दिए ।
नेपाल सरकारबाट स्वीकृत स्थायी दरबन्दी १०९ जनाको छ तर अस्पतालमा हाल ५८ मात्रै कार्यरत रहेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोष गुप्ताले जानकारी दिए । अस्पतालमा ५१ जनाको स्थायी पद रिक्त छ ।