काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन्। रामशाहपथस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि प्रमुख बोहराले थप सक्रियतापूर्वक काम गर्न ट्राफिक कर्मचारीहरुलाई निर्देशन दिए। उनले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिँदै आगामी दिनमा थप ऊर्जाका साथ त्रुटिरहित तवरले सडक प्रयोगकर्ताको मनोभावना बुझेर काम गर्न निर्देशन दिएका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झण्डै दुई महिनादेखि नेतृत्व रिक्त थियो। अहिले कार्यालय प्रमुखमा डिआईजी रहने व्यवस्था छ। गत असार २१ गतेसम्म ट्राफिक प्रमुख डिआईजी पोषराज पोखरेल थिए।
५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए। उनी पनि आइतबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्।
त्यसपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी एसपी विश्वराज खड्काले पाएका थिए। सोमबार प्रहरी हेडक्वार्टरले डिआईजी बोहराको काज सरुवा गर्दै ट्राफिकमा पठाएको हो।