धनगढी । शिखर आर्टसले पहिलो पटक धनगढीमा आयोजना गरेको गाईजात्रामा दर्शेकहरुले आन्नद लिएका छन् । एसटिएस सिनेमा घरमा आइतबारको गाईजात्रा हेर्न प्रदेश प्रमुख नजिर मियाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति डा। टिएन जोशी, एक दर्जन प्रदेश सभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहितका अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए ।
प्रदेशमा पहिलो पटक आयोजना भएको गाईजात्रामा टाउकोमा कालो टोपी, आँखामा पावर दानी चस्मा, काँधमा रातो मख्लर भिरेर दौरा सुरवालसहित प्रधानमन्त्री केपी शर्मा ओलीकै अवतारमा अविवाद गर्दै कलाकार दीर्घ शाही स्टेज चढ्दा गाईजात्रा हेर्न पुगेकाहरूलाई प्रधानमन्त्री नै पुगेजस्तो लाग्यो ।
‘धनगढीमा आएर केही बोलौला भनेको प्रचण्ड जीको गन्ध गन्ध पो आउँछ तरु’ ओलीकै झैँ स्वरमा शाहीले भन्दा दर्शक दीर्घामा हाँसोको फोहोरा पु¥यो ।
उनले आरजू राणा देउवा र प्रचण्ड एउटै विमानमा आएको विषयलाई पनि व्यङ्ग गरेका थिए । ‘देउवा जी पनि आउने भन्नु भएको थियो । हामी कम्युनिस्ट अल्लि छिटो छिटो हिँड्छौँ उहाँ ढिलो गर्नुहुन्छ तालमेल नै मिल्न गारो भइहरेको छ ’ फेरि हाँसो गुन्जिन्छ ।
कालो टोली, ओलीको भन्दा अल्लि ठुलो पावर दानी चस्मा र दौरा सुरवालसहित कांग्रेस सभापति शेरबहादुर देउवा झैँ देखिने गरी स्टेजमा आउँछन् कलाकार प्रेम पौडेल ।
ओली झैँ देखिएका शाही र देउवा झैँ देखिएका पौडेलबिच कांग्रेस एमाले बिचको गठबन्धनका विषयमा घोचपेच सुरु हुन्छ । देउवा र ओलीबिच हुनसक्ने सुदूरपश्चिम सरकारका विषयमा पनि उनीहरूले संवादमा उल्लेख गरेका थिए ।
‘प्रदेशमा साथीहरूले काम गर्न सकेनन् भनेर मलाई रिपोर्टिङ गएको गयै हुन्छ । यो प्रदेशमा अहिलेसम्म बजेट पनि पास भएको छैन ’ ओलीकै आवाज सुनिने गरी कलाकार शाहीले भन्छन् ।
‘कमल शाहको नेतृत्वमा सरकार गठन गरेको त्यो सरकारले पनि बजेट पास गराउन सकेन , तपाइकै कारणले गर्दा हो’ जवाफ आउँछ । ‘मेरो कारणले भन्दा पनि तपाइकै कारणले हो । तपाइले सिफारिस गर्नुभयो मैले सिग्नेचर हान्दिएको हो मेरो के गल्ती भयो र रु ’ ओलीको जस्तै आवाजमा शाहीले भन्छन् ।
देउवाकै जस्तो आवाजमा कलाकारले एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको प्रसङ्ग निकाल्छन् । सुदूरपश्चिममा जो पनि रावलकै कुरा गर्छन् । रावल धेरै छन् सुदूरपश्चिममा । भीम रावलले मसँगै जोरी खोज्न थाल्नु भयो आफै चिप्लिनु भयो ’ फेरि दर्शकको हाँसो सुनिन्छ ।
केन्द्रमा एमाले कांग्रेस गठबन्धन गर्दा तल्ला तहसम्म कार्यकर्ता अझै मिल्न नसकेको भन्दै व्यङ्ग चल्छ ।
‘माननीय ज्यूहरू पनि कांग्रेस र एमालेका फरक फरक ठाउँमा हुनुहुन्छ होला हेर्नुहोला नि ’ सबैको नजर प्रदेश सभा सदस्य बसेको स्थान तर्फ जान्छ । धनगढी गाईजात्राको अन्तिम प्रस्तुति दिन आएका शाही र पौडेलले सबैको ध्यान आफू तर्फ ताने । केही बेर अघि दुवै फरक फरक शैलीमा प्रस्तुत भएको धेरैले पत्तै पाएनन् ।
शाही योजना किनबेच गर्ने बिचौलियाको भूमिकामा आएका थिए भने पौडेल गरिब जनताको पीडा देखाउन त्यस्तै हाउभाउ र पोसाकमा आएका थिए ।
राजनीतिले गर्दा गाउँले बा को पीडामा च्यातिएको लुगा, रुग्ण शरीर र मार्मिक शब्दले सबैलाई भावुक बनाएको थियो । कमिसनको जालोमा दीर्घ शाही र गुड्ड ओलीले प्रदेश सरकारकाबाट योजना किनबेच हुने वास्तविकतालाई व्यङ्ग गरेका थिए । गाउँमा साना नेताहरू पनि २० प्रतिशत कमिसनमा सरकारबाट योजना लैजानै र त्यसका लागि कसरी सेटिङ गर्छन् भन्ने कुरा प्रस्ट राखेका थिए ।
प्रदेश सभा सदस्य र मन्त्रीहरूकै अगाडी कलाकारहरूले सरकार र सांसदहरू प्रति पेचिलो व्यङ्ग गरेका थिए । स्वदेशी बस्तुको मायामा गुणाकर पनेरु र पुष्पा बडेलाको पनि अब्बल प्रस्तुति रहेको थियो ।
भीम विष्ट अछामी रेखाले पनि फरक शैलीमा तिखो व्यङ्ग गरिन् । उनको प्रस्तुतिले सबैका ध्यान तानेको थियो । गाईजात्राको अर्को अब्बल प्रस्तुति थियो ध्रुव सिंह र गुड्ड ओलीको । सिंह धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालको अवतारमा देखिएका थिए भने ओली उपप्रमुख कन्दकला रानाको अवतारमा देखिएकी थिइन् । ओली भन्दा सिंहले धेरैको ध्यान ताने ।
हमालको जस्तो टोपी, एउटा हातमा डायरी, शरीरमा उस्तै पोसाक र बोल्ने शैलीले सिंह हमाल जस्तै देखिएका थिए । ‘ल ल म व्यस्त छु । बाकी काम उपप्रमुखबाट हुन्छ’ भन्दै हमालकै शैलीमा सिंह स्टेजबाट निस्किन्छन् । त्यसपछि उपप्रमुख रानाको झल्को दिने गरी ओलीले प्रस्तुत दिन्छिन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानालाई उनको जस्तै हाउभाउ,प्रस्तुति र शैलीले बेला बेलामा हँसाइरहेको हुन्थ्यो । सामाजिक सञ्जालले जन्जालमा दीक्षा गौतम र बेबो विश्वकर्माले सन्देशमूलक प्रस्तुति दिएका थिए भने सहरमा रुम मिलाउने काममा सरस्वती भट्ट र प्रदीप थापा मगरको पनि अब्बल प्रस्तुति थियो ।