बाजुरा: जिल्ला अस्पताल बाजुरामा औषधी अभाव भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोल सहित अन्य औषधिको अस्पतालमा अभाव भएको हो । औषधी अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेका छन । जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोन लगायत २९ बढी प्रकारका औषधि अभाव भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष औषधि खरिदका लागि जिल्ला अस्पताल बाजुरालाई १० लाख रुपैयाँ दिएको थियो । तर, उक्त बजेट अघिल्लो आर्थिक वर्षमै अपुग भएको अस्पताल प्रशासनको भनाइ छ । सदरमुकाम मार्तडीमै रहेको जिल्ला अस्पतालमा अधिकांश औषधि अभाव भएपछि निजी स्वास्थ्य संस्थाबाट औषधि किन्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।
अस्पतालमा निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए ।