धनगढी: कैलाली जनपुस्तकालयले धनगढीमा सात जनालाई पुरस्कार र सम्मान गरेको छ । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार, शिक्षक र डाक्टरलाई पुरस्कृत र सम्मानित गरिएको हो । कैलाली जनपुस्तकालय पुरस्कार कैलाली बहुमुखी क्याम्पसका सह ९प्राध्यापक सितारमा भट्टले पाएका छन् । वसुन्धरा राष्ट्रिय छन्द पुरस्कार निर्मल कुमार भण्डारी, विष्णु नर्मदा राष्ट्रिय साहित्य पुरस्कार कञ्चनपुरका तुलसीप्रसाद पण्डित र भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार कञ्चनपुरका मदन चन्दले पाए । उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नगदसहित दोसल्ला ओढाएर कदर पत्र प्रदान गरेका थिए ।
नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर विदुरमणि ढकालले बिपी कोइराला स्मृति राष्ट्रिय स्वास्थ्य सम्मान पाएका छन् । बद्रीनाथ राष्ट्रिय शिक्षा सम्मान कैलाली घोडाघोडी २ का प्रेम राज भट्ट र कैलाली जनपुस्तकालय नियमित पाठक सम्मान तीर्थराज ओझा गड्सेरी माइलाले पाएको सचिव टङ्क प्रसाद जोशीले जानकारी दिए । जनपुस्तकालयको वार्षिक उत्सवमा सम्मानित भएका पूर्व राज्य मन्त्री टेकबहादुर रैका र वर्तमान प्रदेश सभा सदस्यलाई पनि शनिवार पुरस्कार वितरण गरिएको छ । अघिल्लो वर्ष कार्य व्यस्तताले उपस्थित नभएका उनीहरू दुवै जनालाई प्रदेश प्रमुखले शनिवार सम्मान गरेका हुन् ।
भदौ ८ गते आयोजित हाजिर जवाफ प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य सदस्य हर्क बोहराले राखेका थिए । टिएन जोशीले सम्मानित व्यक्तिहरूबारे प्रकाश पारेका थिए । जनपुस्तकालयको मुख पत्र अङ्क १६ पनि एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।प्रदेश प्रमुखसहितले पुस्तकको विमोचन गरेका हुन् । प्रधान सम्पादक सुभाष भण्डारीले सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँले कैलाली जनपुस्तकालयले यहाँको पाठकहरूलाई ठुलो सहजता बनाएको बताएका थिए । उनले पठन संस्कृति विकास गर्न आवश्यक रहेको बताए ।
सुदूरपश्चिम सुन्दर रहेको बताउँदै प्रदेश प्रमुख मियाँले अब सबै मिलेर विकासको गतिलाई बढाउनु पर्ने बताएका थिए । कार्यक्रमको सभापति कैलाली जनपुस्तकालयका अध्यक्ष टिएन जोशीले आफ्नो कार्यकालमा कैलाली जनपुस्तकालयलाई डिजिटल बनाउँदै अनुसन्धान केन्द्र बनाउने बताएका थिए । त्यसको लागि तीनै तहको सरकारसँग सहयोगको अपेक्षा रहेको उनले बताए ।