धनगढीः सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकाको समन्वय र अखिल नेपाल फुटबल संघ (एनफा) को स्वीकृतिमा धनगढीस्थित फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागी सम्झौता भएको छ। फुटबल खेलको विकासका लागि प्राविधिक, खेल विकासका कार्यक्रम र भौतिक पूर्वाधार निर्माणका स–साना कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्।
जसका लागी प्रारम्भिक रुपमा एक लाख अमेरीकी डलर (नेपाली १ करोड चौतिस लाख ३३ हजार) को लगानीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने निर्णय बमोजिम अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र धनगढी उप महानगरपालिका प्रमुख गोपाल हमाल बिच आज सम्झौता भएको छ । कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले धनगढी उपमहानगरपालिका–१४ डिपोबजार क्षेत्रमा प्रशिक्षण केन्द्र निर्माण गरिने बताए। उनले भने, ‘फूलबारीको डिपो बजारको जग्गामा बनाउने हो। त्यो उपमहानगरपालिकाको जग्गा हो।
अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिममै पहिलो पटक कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ। यो प्राम्भिक चरणको काममा एक करोड ३३ लाख बजेट बिनियोजन गरिएको छ, टेक्नीकल सेन्टर बनाउन १५ देखि २० करोडको बिचमा लाग्ने अनुमान गरिएको छ ।