धनगढी । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा धार्मिक पूजाआराधनाका साथै एकआपसमा सामाजिक सद्भाव साटासाट गरेर हर्षोल्लासका साथ मनाइएको छ । सुदूरपश्चिमका अतिरिक्त विभिन्न पेसा, व्यवसाय तथा रोजगारीको सिलसिलामा देशविदेशमा रहेका सुदूरपश्चिमेलीले गौरामाताको पूजाआजा तथा न्याउल्या र देउडा खेल खेलेर गौरा पर्व मनाएका छन् ।
पहाडी जिल्लाका गाउँबस्तीमा गौरा पर्वको चहलपहल सुरु भएसँगै यसको मौलिकता भने मासिँदै जान थालेको छ । पर्वहरूको दैलो उघार्ने चाडका रूपमा मनाइँदै आएको गौरा पर्वमा प्रसादका रूपमा ग्रहण गरिने बिरुडा ९पञ्च अनाज० र दुब धागो भारतबाट आयात हुने गरेको छ ।
गौरामा लगाइने मौलिक पोसाक घाँगरो ९गुन्यु०, आङ्डो ९चोली० को स्थान बनारसी सारीले ओगट्न थालेको छ । मौलिक गहना ठोका, पैँणा, बाला, कण्ठश्री, मुगाको माला, चवन्नी माला हराइसकेका छन् । त्यस्तै गौरा पर्वमा गाइने मागल, फाग र धमारी हराउन थालेका छन् । बिरुडाका लागि गाउँमै फलेको दलहन गँरुस, कलौँ ‘केराउ’ डालोमा सुरक्षित राख्ने गरिन्थ्यो । पछिल्लो समय मास, गहत, गुरुस, कलौँ ९सानो केराउ० जस्ता दलहनका वस्तु उत्पादन घटेकाले बिरुडामा प्रयोग हुने वस्तु भारतबाट आयात हुने गरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।
जनैपूर्णिमाका दिन पुरुषले जनै फेरे जस्तै विवाहित महिलाले गौरा पर्वमा दुबधागो फेर्ने चलन छ । घाँटीमा लगाइने रातो, पहेँलो र सेतो रङको धागोलाई दुबधागो भन्ने गरिन्छ ।