धनगढी । कृषि उत्पादनलाई बजारीकरण गर्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारका निर्माण गरेका हाटबजार अहिले बन्द अवस्थामा रहेका छन् ।
कैलालीका विभिन्न पाँच स्थानमा आर्थिक वर्ष २०७६र०७७ मा एक करोड बढीको लगानीमा कृषि हाटबजार निर्माण गरिएका थिए । तर अहिले पाँच मध्ये चार हाटबजार प्रयोग विहीन अवस्था रहेको पाइएको छ ।
प्रदेशको सार्वजनिक लेखा समितिले गरेको अनुगमनमा टीकापुर कृषि हाट बजारबाहेक प्रदेश सरकारले बनाएका अन्य सबै हाटबजारहरू अलपत्र अवस्थामा रहेको भेटिएको थियो । किसानको आवश्यकता भन्दा पनि पहुँचका आधारमा तयार भएका हाटबजार अलपत्र रहेको अधिकांश किसानहरूले गुनासो गरेका थिए ।
संसदीय समितिको अनुगमनमा स्थानीयले कार्यकर्ताहरूलाई पोस्नको लागि बजेट तयार गर्दा काम प्रभावकारी नभएको गुनासो गरेका थिए । गलत ठाउँमा योजना पारिएको, नियमनकारी निकायले चासो नदेखाएको र किसानहरूसँग सल्लाह नै नगरेर हाटबजार तयार गरिएको हुँदा करोडौँ लगानीमा तयार भएका हाटबजार अलपत्र परेको स्थानीयले संसदीय समितिलाई बताएका थिए ।
सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीको नेतृत्वमा रहेको अनुगमनमा प्रदेश सभा सदस्यहरू प्रकाश बहादुर देउवा, सन्तोष शर्मा थापा, अक्कल बहादुर रावल, बेल बहादुर राना, मधु भारती, गीता देवी माल र गीता चौधरी सहभागी थिए ।
सार्वजनिक लेखा समितिको टोलीले गौरीगङ्गा नगरपालिका–९ स्थित कृषि उपज संकलन, घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको कृषि बजार व्यवस्थापन समिति, बर्दगोरिया–५, स्थित प्रगतिशील हाट बजार, लम्कीचुहा नगरपालिका–८, गोप्कास्थित हाटबजार तथा सांस्कृतिक संरक्षण समिति र टीकापुर नगरपालिका–१, स्थित कृषि बजार व्यवस्थापन समितिको अनुगमन गरेको थियो ।
आर्थिक वर्ष २०७६र०७७ मा हाटबजार सम्बन्धी सबै योजना उपभोक्ता समितिमार्फत निर्माण भएको बताइएको छ । प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि ज्ञान केन्द्रले उपभोक्ता समितिमार्फत कृषि हाटबजारहरू निर्माण गरेको हो ।