धनगढी । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ ९पाँच प्रकारका अन्न तथा गेडागुडी० भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न ९मास, कलौँ, गहत, गहुँ र गुरुस० भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।
पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने जानकार गोमती भट्टले बताए ।
फागमा सबै नारीहरु गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव ९स्थानीय भाषामा मयासर भनिने० लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । सप्तमीका दिन धानसँगै उम्रिएको साउँ ९धानजस्तै देखिने घाँस० बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको सरस्वती अवस्थीले बताए ।
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ ।