कञ्चनपुर — यातायात व्यवस्थासम्बन्धी नियमअनुसार एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधनलाई अर्को प्रयोजनमा प्रयोग गर्न पाइँदैन । तर, भीमदत्त नगरपालिकाले भने वर्षौं पुरानो र त्यत्तिकै थन्किएर रहेको टिपरलाई १० लाख रुपैयाँ खर्चेर शववाहन बनाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा झण्डै १३ वर्ष पुरानो बिग्रिएको टिपरलाई १० लाख खर्चेर महाप्रस्थान नाम दिएर शववाहन बनाएको हो । जुन यातायात व्यवस्थासम्बन्धी ऐनविपरित हो । ‘यो नपाइने कुरा हो, सडकमा चलाएको पाइएमा कारबाही हुन्छ,’ यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख तारा भट्टले भने, ‘मालवाहकलाई यात्रुवाहक वा यात्रुवाहकलाई मालवाहकमा प्रयोग गर्न मिल्दैन ।’ उनले ऐनमा भएको व्यवस्थाअनुसार नगरपालिकाले बनाएको शववाहन सार्वजनिक सडकमा चल्न पाउँदैन ।
नगरपालिकाले भने मानवीय समवेदनासँग जोडिएको कुरा भन्दै बिग्रेर थन्किएको पुरानो टिपरलाई प्रयोगमा ल्याउने गरी राम्रै काम भएको दाबी गरिरहेको छ । ‘वडाले शववाहन बनाउन टिपर माग्यो, नगरपालिकाले निर्णय गरेर अनुमति दिएको हो,’ भीमदत्त नगर प्रमुख पदम बोगटीले भने, ‘नगरपालिकाले आफ्नै प्रयोगका लागि बनाएको हो ।’ भीमदत्त–१७ ले गत आर्थिक वर्षमा शववाहनका लागि नगरपालिकामा माग गरेको थियो । त्यसका लागि वडा कार्यालयले १० लाख विनियोजन पनि गरेको थियो ।
आफैंमा कानुन निर्माण तथा कार्यान्वयन गर्ने निकाय नगरपालिकाले ऐन कानुनविपरीत हुने गरी शववाहन बनाउँदा आलोचना भइरहेको छ । शववाहन सानो खालको साधन हो । यसका लागि एम्बुलेन्स चालक भए पुग्छ । तर टिपरलाई एम्बुलेन्स बनाएर चलाउन हेभी चालक आवश्यक पर्ने हुन्छ । नगरपालिकाले नयाँ खरिद गर्दा पनि १० लाख हाराहारीमा ल्याउन सक्छ । तर पुरानो थोत्रो टिपरमा यति ठूलो रकम खर्च गर्नुपर्ने आवश्यकतासमेत नरहेको स्थानीय बताउँछन् । ‘यति रकममा त नयाँ राम्रै शववाहन ल्याउन सकिन्छ,’ स्थानीय मदन चन्दले भने, ‘पुरानो साधनलाई रंगरोगन गरेर नयाँ बनाउनु अनियमितता हो ।’
शववाहन बनाउन टिपरको टायर, बडीलगायतमा वडाको बजेटबाट १० लाख भुक्तानी पनि भइसकेको छ । तर उक्त साधन ६ महिनादेखि नगरपालिकाको खेलकुद विकास समिति परिसरमा थन्किएको छ । ‘हामी यसलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौं,’ वडा १७ का वडाध्यक्ष पदम बुढाले भने, ‘ऐन–कानुनबारे पनि बुझिरहेका छौं, प्रदेशमा पनि समन्वय भइरहेको छ ।’ वडाध्यक्ष बुढाले वडा स्तरबाट योजना छनोट गर्दा स्थानीयबाट शववाहनको माग भएकाले त्यही अनुसार नगरपालिकामा माग गरेको बताए । नगरपालिकाले पनि पुरानो टिपरबाट बनाउन सकिने निर्णय गरेको उनले बताए । सञ्चालन गर्न पाउने नपाउने विषयमा प्राविधिक ज्ञान नहुँदा कमजोरी भएको उनले स्विकारे ।