कञ्चनपुर: भीमदत्त नगरपालिका-११ भुजेलामा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् । स्थानीयले शनिबार बिहान बस्तीमा चितुवा देखेका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमखु भीम प्रसाद कँडेलले भाुजेला खोला र नजिकै रहेको माछा पोखरीकोबीचमा चितुवा देखिएको बताए । अहिले चितुवालाई केज (खोर) मा फसराउने प्रयास भइरहेको उनले बताए । एकातर्फ बाख्राको पाठो बाँधेर नजिकै दुई वटा केज राखिएको उनले बताए । वन कार्यालय र निकुञ्जका कर्मचारीले निगरानी गरिरहेका छन् ।
चितुवालाई नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती समेत परिचालन भएको डिभिजन वन अधिकृत कँडेलले बताए । उनका अनुसार केजमा फसाउन नसकेपछि डाट गरेर पनि नियनत्रणमा लिने प्रयास गरिने बताए । उनका अनुसार स्थानीयले बिहानै देखेपछि वन कार्यालयलाई खबर गरेका हुन् । त्यसपछि वनका कर्मचारीले पनि चितुवा देखेको उनले बताए । दुई साताअघि मात्रै दोधारा चाँदनी नगरपालिका २ मा बाघले मान्छे मारेको थियो । उक्त बाघ नियन्त्रणमा लिएर लिएर बर्दिया राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा राखिएको छ ।