धनगढी । कर्णालीका विद्यार्थी हरेक वर्ष मुगुको उत्तरी भेगमा यार्चागुम्बा सङ्कलन गर्न जान्छन् । मुगुको विकट क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका पाटनमा यार्चागुम्बा पाइन्छ । हिमाली भेगका अग्ला पहाडमा रहेका सम्म परेका मैदानलाई पाटन भनिन्छ । त्यहाँ जान निकै जोखिम मोल्नु पर्छ । लेक लाग्ने वा हिउँ पहिरोमा परेर बर्सेनि कतिपय विद्यार्थीले ज्यानसमेत गुमाउने गरेका छन् । हिमाली क्षेत्रमा जति जति उचाइ बढ्दै जान्छ उति उति अक्सिजनको मात्रा र हावाको चाप कम हुँदै जान्छ । उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम भई टाउको दुख्ने, सास रोकिएला जस्तो हुने, वाकवाकी लाग्ने आदि समस्या हुन्छ । यसलाई लेक लागेको भनिन्छ । समयमा पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा मानिसको ज्यानसमेत जानसक्छ ।
यार्चागुम्बा वनस्पति र जीव दुवै हो । हिमाली भेगमा पाइने ढुसी र झुसिलकिरा एकै ठाउँमा जोडिएर रहेको वस्तु नै यार्चागुम्बा हो । छ महिना किरा र छ महिना वनस्पति भएर रहन्छ । यो समुद्र सतहबाट करिब तीन हजार आठ सय मिटरदेखि चार हजार आठ सय मिटरसम्मको उचाइमा पाइन्छ । यो महँगो जडीबुटी हो । त्यसैले यसलाई हिमालको सुन पनि भनिन्छ । यसलाई यार्चागुम्बा वा सङ्क्षेपमा यार्चा वा यार्सा पनि भन्ने गरिएको पाइन्छ । सजिलै नदेखिने भएकाले भुइँमा पल्टिएर यार्चागुम्बा खोज्ने चलन हुन्छ । कुटोले कोट्याउँदै जमिनमुनिबाट यार्चागुम्बा निकालिन्छ ।
नेपालमा तीन प्रकारका यार्चागुम्बा पाइन्छ । ती सबै प्रयोगयोग्य र बहुमूल्य हुँदैनन् । नेपालमा पाइने यार्चागुम्बामध्ये कोर्डिसेप्स सिनेन्सिस प्रजातिको यार्चागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यसलाई औषधीका रूपमा प्रयोग गरिन्छ ।
कालीकोट, जुम्ला, हुम्ला आदि जिल्लाका विद्यार्थी यार्चागुम्बा सङ्कलन गरिरहन्छन् । त्यो बेला उनीहरूले पढाइ छाडेका हुन्छन् । विद्यार्थी नभएपछि धेरै जसो विद्यालय पनि त्यो बेला बन्द हुने गर्दछ । घरको आर्थिक समस्याले गर्दा उनीहरूले दुःख गरेर यार्चागुम्बा टिप्न जानुपरेको हो ।