धनगढी । अपाङ्गताका सवालमा राज्यले दिएका सुविधा कार्यान्वयन गराउन ट्राफिक प्रहरी तयार रहेको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले बताए ।
सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा बुधवार ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिबिच भएको छलफलमा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले यस्तो बताए ।
छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विभिन्न चुनौतीको सामना गर्नु परेको बताए । उनले पछिल्लो समय ट्राफिक प्रहरीबाट केही राम्रा प्रयास भए पनि समग्रमा अझै अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा राज्यबाट पाएका सेवा सुविधा उपभोग गर्न नपाएको गुनासो गरे ।
अध्यक्ष साउदसँग ट्राफिक कार्यालय पुगेको अपाङ्गता अधिकारकर्मीको टोलीले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ र अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७ को उपदफा २ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा पचास प्रतिशत छुट, सिट आरक्षणको व्यवस्था गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा अझैसम्म कार्यान्वयन नभएको र सम्मानजनक भाषाको प्रयोग लगायतका मुद्दा कार्यान्वयन हुन नसकेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो ।