बैतडी –बेपत्ता भएको ६४ बर्षपछि बैतडीको पुर्चौंडी नगरपालिका ७ का नरसिंह रतोकी फेला परेका छन् । विं स. २००० मा जन्मिएका रतोकी १७ बर्षको उमेरमा घरबाट भारत जान्छु भनि हिँडेका थिए । त्यसपछि उतैबाट बेपत्ता भएका ८१ बर्षीय रतोकी बिहीबारमात्रै फेला परेका पुर्चौंडी नगरपालिकाका प्रवक्ता धिरेन्द्रबहादुर बमले बताए । ६४ बर्षदेखि बेपत्ता रहेका रतोकी वेवारिसे अवस्थामा मेलौलीमा नगरपालिकामा फेला परेका हुन् । बिहीबार मेलौली नगरपालिका वडा नं ५ को सिरोडा जंगलबाट रतोकीको इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको टोलीले उद्धार गरेको थियो ।
स्थानीय जंगलमा बेवारिसे अवस्थामा फेला परेका रतोकीको मेलौलीका स्थानीय समाजसेवी र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको हो । रतोकीको सरसफाइका साथै उनको सामान्य उपचार समेत स्थानीय समाजसेवीहरुले गरेको प्रवक्ता बमले बताए । प्रहरीले फेला पारेका रतोकीको पहिचान खुलेपछि उनका आफन्तसहितको टोलीले शनिबार घर लगेका छन् ।बिहिबार भेटिएका रतोकीको मानसिक अवस्था कमजोर रहेको छ ।