धनगढी: कञ्चनपुरमा बिहिबार बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ। उनी आज बिहीबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन्। उनको घर नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। प्रहरीका अनुसार बाघले करिब ५० मिटर घिसारेको थियो।
त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो। अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो। मृतक हीरा र मीना शाह देउरानी जेठानी हुन्, उनीहरू सँगै बस्छन्। कलिलो उमेरमै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। परिवारमात्र होइन, उनका दुई वर्षे दुधे छोरा आमा खोजेर रोइरहेका छन्। जेठानीले अबोध ती बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास गरिरहेकी छन्। तर उनले मान्ने अवस्थै छैन।
हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन्। पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन्। गोविन्द वैशाखमा बुवाको बरखी गरेर मजदुरी गर्न भारत गएका थिए। यस्तै मृतक हीराकी जेठानी मीनाका श्रीमान् रोजगारीको सिलसिलामा मलेसियामा छन्। गोविन्दकी आमा ७ वर्षअघि बितेकी थिइन्। बुवाको बरखी सकेर मजदुरी गर्न भारत गएका गोविन्दले पत्नीवियोगको वज्रपात व्यवहोर्नु परेको छ।
उनको परिवार २०५० सालमा दार्चुलाको गोकुलेश्वरबाट दोधारा चाँदनी झरेको थियो। बाघको आक्रमणबाट मान्छे मृत्युको घटनाले दोधारा चाँदनी शोकमा मात्रै डुबेको छैन, त्रासमा पनि छ।