बैतडी :परम्परागत सिप, कला र ज्ञान भएका दलित समुदायका पाका शिल्पकार रोजगारीका लागि विदेश पलायन हुन थालेपछि मौलिक सामग्रीको उत्पादन सङ्कटमा पर्न थालेको छ । मन्दिरका कलात्मक ढोका बनाउनेदेखि, दमाहा, हुड्को बनाउने र बाजा बजाउने चलन हराउन थालेको छ । प्लास्टिकका भाँडाले बजार ओगटेपछि तामा, फलामलगायतका मौलिक कला र वस्तु विस्थापित भएका छन् ।
आरन पेसा गर्नेहरू धमाधम भारत पलायन हुन थालेका छन् । सुर्नया गाउँपालिका–७, पत्थरकोट गाउँमा दलित समुदायका दुई सय घरपरिवारको बसोबास रहेको छ । पार्की थरका दलितसँग मौलिक घरका खोलदेली (ढोका) र बाँस चोयाको सिपरज्ञान भएर पनि परम्परागत सिपले जीविका नचल्दा भारत पलायन हुन थालेका छन् । पत्थरकोटका अधिकांश घरपरिवार रोजगारीका लागि भारतको बेङ्लोर, मुम्बई र नयाँ दिल्लीमा रहेका आप्रवासी युवा जीवन पार्कीले बताए । दलित परिवारका एकरदुई जना सदस्य भारत जाने चलन बुवाबाजेकै पालादेखि भए पनि पछिल्लो समय भने बालबच्चासहित सपरिवार भारत जानेको सङ्ख्या बढेको उनले बताए ।
सिगास गाउँपालिका–१, गिवाडीखोलाको दलित बस्तीको पनि उस्तै अवस्था छ । परम्परागत ज्ञान र सिप भएका विश्वकर्मा समुदायका करिब एक सय घरपरिवारमध्ये प्रायः दक्ष जनशक्ति भारत पलायन भएका छन् । चोयाको काम गर्ने दक्ष जनशक्ति भारत पलायन भएपछि मोट्टा (भुइँमा ओछ्याइने चोयाको वस्तु) पाइन छाडेको छ । मौलिक वस्तुभन्दा पनि कम्पनीका सामग्रीको उपभोग बढेको छ । दलित समुदायको मौलिक पेसा सङ्कटमा परेको स्थानीय पदम विश्वकर्माले बताए । पाटन नगरपालिका–१०, बाडीखाना गाउँको अवस्था पनि अन्यत्रको जस्तै छ । आरन, बाँस, चोया र छालाको काम गर्ने सार्की समुदाय, चुनारा र विश्वकर्मा परिवारका अधिकांश मानिस रोजगारीका लागि भारततर्फ पलायन भएपछि मौलिक पेसा सङ्कटमा परेको बताइन्छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कुल नौ हजार ८२१ दलित घरधुरीमध्ये छ हजार ५०६ घरधुरीका मानिस विदेश पलायन भएका छन् । दलितको घरधुरीलाई जनसङ्ख्याका आधारमा हेर्दा ५० हजार दलितमध्ये ३२ हजार ५३० जना रोजगारीका लागि भारतलगायतका विभिन्न मुलुकमा पलायन भएको पाइन्छ ।
परम्परागत सिपलाई उपेक्षा
स्थानीय तहको नीति तथा कार्यक्रमले दलित समुदायको परम्परागत मौलिक पेसाको जगेर्ना गर्न सकेको छैन । गाउँ तथा नगरपालिकाको नीति तथा कार्यक्रममा दलितका परम्परागत पेसा जोगाउने कार्यक्रम ल्याउन नसक्दा यस्तो समस्या आएको शिक्षक दिनेश नागारीले बताए । ठेकी बनाउने परम्परा हराइसकेको छ । चोयाको मोट्टा हराउँदा कार्पेट भित्रिन थालेको छ । हुड्को र छलिया नाच हराउने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।