बैतडी । आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड क्षेत्रमा अहिले सरर मोटरगाडी चल्न थालेका छन् । पाटन–पञ्चेश्वर सडक कालोपत्रे गरेपछि तराईबाट बस सिधा तल्लो स्वराड पुग्ने गरेको छ ।
विगतका दिन सम्झिँदै स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति सुनाए । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता थियो ।
मोटरगाडी चल्न थालेपछि चामल सस्तो भएको छ । पहिले घोडेटो बाटो नभएका कारण खच्चड वा भरियाबाट खाद्य ढुवानी गर्नुपर्ने अवस्था थियो । पाटन–पञ्चेश्वर सडकले मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाको कष्टकर जीवनमा परिवर्तन ल्याइदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नु पथ्र्यो, सडक पुगेपछि अहिले तीन घण्टामा पुगिन्छ । अध्यक्ष चन्दका अनुसार, “उपभोग्य वस्तु ढुवानी गर्न मेलौलीसम्म १५ र पञ्चेश्वरको २० रुपियाँ प्रतिकिलो खच्चडको भाडा तिर्नु पथ्र्यो । अहिले पाँच रुपियाँ प्रतिकिलो ढुवानीमा उपभोग्य वस्तुको आपूर्ति भइरहेको छ ।”