धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार नभएको आभास भएको बताएका छन् । आइतबारको प्रदेश सभा बैठकमा बोल्ने सबै प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभा बैठक छलेको आरोप लगाए ।
आइतबार कांग्रेसका विक्रमसिंह धामी, एमालेका राजेन्द्र सिंह रावल, माओवादी केन्द्रका शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकारको समीक्षा गरेका हुन् ।
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सुदूरपश्चिमका जनताले सरकारलाई खोज्दै गरेको बताए । उनले अझैसम्म पनि विपद्को सम्भावना रहेको बताएका थिए । उनले सुरुबाटै विपद् जोखिमको तयारी रहेको बताए ।
‘सांसद धामीले विपद्को लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहनु पर्ने बताएका थिए । ठुलो जोखिमको लागि हवाई उद्धारको लागि पनि सरकारले तयारी गर्नुपर्नेमा जोड दिएका थिए ।
अल्पमतमा परेको सरकारको नेतृत्व गरेर मुख्यमन्त्री सोडारीले प्रदेशलाई अझै अनिर्णयको बन्दी बनाएको आरोप लगाए । उनले नयाँ सरकारको लागि बाटो खोल्नको लागि राजीनामा दिन पनि सुझाव दिएका थिए ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बाढी प्रभावितहरूको अवस्था निकै दयनिय रहेको बताएका थिए । उनले १० जनाको मृत्यु भएको तर, सरकारले कुनै चासो नदिएको बताए । उनले भने, ‘सरकारले कुनै पनि तयारी गरेन । सरकारले राहत क्षतिपूर्ति र पुनर्स्थापनाको कुनै काम गरेन । सरकार मुख दर्शक भएर सत्ता जोगाउन लाग्यो । यसको जिम्मेवारी लिँदै राजीनामा दिनु पर्छ । ’ पहाडी क्षेत्रका सडकहरु अवरुद्ध भएको भन्दै सरकारले त्यसमा पनि चासो नदिएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले मुख्यमन्त्री सोडारीले संसद् छलिरहेको बताए । सांसद ओलीले भने, ‘सरकार के का लागि रु सत्ता के का लागि रु यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नैपर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नुपर्थ्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद् छलिरहेका छन् रु जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ भन्न सकिन्छ रु’
त्यस्तै, सांसद ओलीले अल्पमतको सरकारले कि त चाँडै विश्वासको मत लिनुपर्ने कि त, मार्ग प्रशस्त गर्नुपर्ने पनि विचार व्यक्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पनि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परेर ठुला क्षति हुँदा पनि सरकारलाई कुनै चासो नभएको बताएका थिए । उनले मुख्यमन्त्रीलाई यस विषयमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै चासो नदिएको बताए ।
उनले कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका डुबानको क्षेत्र रहेको भन्दै त्यहाँका नागरिकहरूको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । उनले शिविरमा रहेका जनताको घरमा डोजर चलाएको भन्दै थप आक्रोश व्यक्त गरे । ‘भजनी र कैलाली ठुलो डुबान हुने क्षेत्र हो । बाढी पीडित भएका नागरिकहरू शिविरमा बसिरहनु भएको थियो त्यहाँका नागरिकहरूको समस्या समाधान गर्नु पर्ने सरकारले असारको महिनामा गैर जिम्मेवार तरिकाले डोजर चलाएको छ’, उनले भने, ‘यो निकै दुखत विषय हो । उहाँहरूको समस्या समाधान गर्न सरकार जिम्मेवार बन्नु पर्छ ।’