कञ्चनपुर : असार तेस्रो साताको बाढी र डुबानका कारण कञ्चनपुरमा साढे ४ हजार हेक्टरभन्दा बढीको खेतीबाली नोक्सान भएको छ । स्थानीय तहहरुले संकलन गरेको प्रारम्भिक विवरण अनुसार धान, उखु, मकै र तिललगायतका बाली नोक्सान भएको हो । असार तेस्रो साता आएको बाढीले पटान गरेको दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरको धानखेत ।जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ हजार हेक्टर भन्दा बढीको धानखेती कटान र पटानले नोक्सान भएको कृषि शाखाले जनाएका छन् । पुनर्वास, बेलौरी र दोधारा चाँदनी नगरपालिका तथा बेलडाडी र लालझाडी गाउँपालिकामा बढी मात्रामा क्षति भएको छ । ‘अब रोपाँई गर्ने समय पनि छैन, छरुवा धानको बिउ पनि पाइदैन,’ दोधारा चाँदनी नगरपालिकाको कृषि शाखा प्रमुख कमलापति भट्टले भने, ‘अब भटमास, मास, मुङ र तिल छर्न सकिन्छ ।’ उनका अनुसार कृषि ज्ञान केन्द्रबाट उपलब्ध भएको भटमास कृषकहरुलाई वितरण गरिएको छ ।
हिलो नभएको ठाउँमा छर्न सकिने भए पनि धेरै ठाउँ अहिले पनि हिलो भएका कारण दलहन तथा तेलहन बाली समेत छर्न सकिने अवस्था नरहेको भट्टले बताए । दोधारा चाँदनी नगरपालिकामा जोगबुडा नदीको बाढीले कुतियाकभर, सुन्दरनगर, कञ्जभोज र पटेराखल्लालगायतका बस्तीमा क्षति गरेको थियो । कृषि शाखाका अनुसार डुबान र कटानले २ सय ६६ हेक्टरको धान, ६ हेक्टर मकै, ७ हेक्टरको तरकारी र २ हेक्टरको तिल कटान र पटानले नष्ट भएको छ । ‘तीन विघामा लगाएको परवल र तरुल सबै बालुवाले पुरिएको छ,’ दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरका खडक बुढाले भने, ‘जमिन भाडामा लिएर लगाएको तरकारी सबै बालुवाले पुरियो, अब बीउको खर्च पनि कसरी तिर्ने रु’ उनले ३ विघा जमिन भाडामा लिएर तरकारी र धान खेती गरेका थिए ।
बढीका कारण भीमदत्त नगरपालिका साढे ४ सय हेक्टर, ४ सय, बेलौरीमा ५ सय र पुनर्वासमा ४ सय हेक्टरको धानखेती नष्ट भएको कृषि शाखाले जनाएका छन् । यसैगरी बेलौरीमा करिब २ सय हेक्टर, पुनर्वासमा ३ सय, बेलडाँडीमा ५० र लालझाँडीमा २ सय हेक्टरको उखु समेत नष्ट भएको छ । ‘सबै विवरण संकलन भइसकेको छैन, वडाबाट विवरण आउने क्रममा छ,’ बेलडाँडी गाउँपालिकाका कृषि शाखा प्रमुख निरज शर्माले भने, ‘प्रारम्भिक विवरण आएको छ, क्षतिको अवस्था अझ थप हुन सक्छ ।’
बेलडाँडी–५ इमिलियामा चौधर नदीले महाकाली सिँचाइ आयोजना दोस्रो चरणको नहरको बाँध फोडेर बस्तीमा पसेको छ । जसका कारण गाउँपालिका पूरै डुबानमा परेको थियो । बेलडाँडीसँगै बेलौरी नगरपालिका समेत चौधर नदीको बाढीका कारण डुबानमा परेको थियो । पुनर्वास नगरपालिका–८ मा गत वर्षझै यसवर्ष पनि धान सुकेको छ । कृषि शाखा प्रमुख कर्णबहादुर शाहीका अनुसार खेतमा जमेको पानी पनि कालो देखिएको छ । उक्त क्षेत्रमा पटान नभए पनि धान सुकेको छ । गत वर्ष सोही पुनर्वास–५ सिमरी, ७ परासनलगायतमा केमिकल मिसिएको पानीका कारण करिब १ सय हेक्टरमा लगाएको धान र ५० हेक्टरको उखु नष्ट भएको थियो ।
कृषकहरुले नजिकै रहेको चिनी मिलबाट केमिकल बगेका कारण धानबाली सुकेको दाबी गरे पनि केमिकल कहाँबाट आयो भन्ने एकिन हुन सकेको छैन । पीडित कृषकहरुले हालसम्म कुनै राहात समेत पाएनन् । ‘यस वर्ष पनि पोहोरजस्तै धानबाली पूरै सुकेको छ, नजिकै भारतीय क्षेत्रमा चिनी मिल भएका कारण सोही क्षेत्रबाट आएको पानीले धान सुकेको अनुमान छ,’ पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने, ‘खेतमा जमेको पानी पूरै कालो छ, केही न केही विषादीकै कारण सुकेको हुन सक्ने देखिन्छ ।’ गत वर्ष दोदा वडा–५, ७ र १० मा दोदा नदीको बाढी पस्दा १ सय हेक्टर धान र ५० हेक्टरको उखु एकाएक सुकेको थियो । कृषकहरुले नजिकै रहेको चिनी मिलबाट केमिकल बगेर धान र उखु सकेको दाबी गर्दै आएका छन् ।
पानीको नमुना परीक्षणमा पनि केमिकलकै कारण धान र उखु सुकेको पुष्टि भइसकेको छ । तर हालसम्म पनि प्रभावित कृषकहरुले राहत तथा क्षतिपुर्ती पाएका छैनन् । ‘बाढीले पटान गरेको ठाउँमा अब भटमासलगायत दलहन बाली नै उपयुक्त हुन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतिले भने, ‘ब्याड तयार छ भने रोपाइँ पनि गर्न सकिन्छ ।’ उनले भटमास लगाउन चाहने किसानलाई ज्ञान केन्द्रले बिउ सहयोग गर्न सकने बताए । पानी नजम्ने ठाउँमा छरुवा धान पनि छर्न सकनि उनले बताए । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।