बैतडी : विद्युत् वितरण केन्द्रले वर्षौंसम्म महसुल नबुझाउने ९३ वटा सरकारी कार्यालय र ५९९ ग्राहक गरी ६९२ ग्राहकको लाइन काटेपछि ६० लाख रुपियाँ महसुल उठेको छ । ४९९ ग्राहकबाट यतिको रकम उठेको हो । आर्थिक वर्ष २०८०/८१ मा लाइन काटिएका ९३ मध्ये ७६ सरकारी कार्यालय र ५९९ मध्ये ४२३ जना अन्य ग्राहकले ५६ लाख ३४ हजार ५८४ रुपियाँ महसुल बुझाएका हुन् । ग्राहकले महसुल बुझाएर पुनः लाइन जोड्न चार लाख २२ हजार ९०३ रुपियाँ थप शुल्क बुझाएका छन् ।
नियम अनुसार तिर्नुपर्ने महसुल बर्सौंसम्म नबुझाएका ग्राहकको पहिलो पटक लाइन काटिएको विद्युत् वितरण केन्द्रले जनाएको छ । लाइन काटेपछि एक वर्षमै ६० लाख रुपियाँभन्दा बढी महसुल उठेको कार्यालय प्रमुख जनार्दन पौडेलले बताए । उनले भने, “लाइन काटिएका ६९२ ग्राहकमध्ये ४९९ ग्राहकले महसुल बुझाएर पुनः लाइन जडान गरिसकेका छन् । ९३ सरकारी कार्यालयको लाइन काटिएकोमा ७६ वटा कार्यालयले शुल्क बुझाएका छन् ।” त्यसै गरी लाइन काटिएका ५९९ अन्य ग्राहकमध्ये ४२३ जनाले शुल्क बुझाएर लाइन जडान गरेका छन् १७६ जना ग्राहक सम्पर्कमा नआएका उहाँले जानकारी दिए ।