धनगढी । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई रनको १०९ लक्ष्य दिएको छ। श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछ पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो।
खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन्। कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन्।
अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो। ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन्। रुबिना र सीता दुवै रनआउटको सिकार बनेका थिए।
त्यसपछि छैटौं विकेटका लागि कविता जोशी र पूजा महतोले ३४ रनको साझेदारी गरेपछि नेपाललाई राहत भएको थियो। अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि पूजाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन्।
कविताले नटआउट ३१ रन जोडिन्। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्। बलिङमा पाकिस्तानकी सादिया एकबालले २ विकेट लिइन्।
पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। पाकिस्तानलाई पनि सेमिफाइनलमा स्थान पक्का गर्न आजको खेल जित्नु पर्ने दबाब छ। नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन्।
नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। नेपालले मंगलबार भारतसँग खेल्नेछ।