कञ्चनपुर : पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो । सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ । डुङ्गा सञ्चालनको जिम्मा सोभाताल संरक्षण समितिलाई दिइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुङ्गा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिए । उनका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुई वटा बोरिङ जडान गरिएका छन् । सोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म रु २५ करोडको खर्च भइसकेको नगर उपप्रमुख चौधरीले बताए । उनका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ ।