डोटी – डोटीको शिखर नगरपालिका–२ कालागाडका किसानहरुले असारमै धानवाली भित्र्याउन पाएपछि दंग परेका छन् । चैतमा रोपेर पनि धान फल्छ र १ सोच्ने किसानहरु धान खेती राम्रो भएपछि दंग परेका हुन । परीक्षणका रुपमा पहिलो पटक रोपिएको चैते धान भित्र्याएर किसानहरुले सोही खेतमा असारे धान रोपेका छन् । चैते धान राम्रो फलेको स्थानीय कृषक नरुदेवी कार्की बताउँछिन् । ‘हामीलाई त चैतमा रोपेको धान पनि फल्ला भन्ने बिश्वासै थिएन’ नरु भन्छिन् ‘चैते धान राम्रो फल्ने रहेछ, एकदमै खुशी लागेको छ । उनी अब हरेक वर्ष चैते धान खेती गर्ने बताउँछिन् ।
नरु वर्षमा दुई पटक धान खेती गर्न सकिने कुराको जानकारी नभएको बताउँछिन् । ‘मेरो खेतमा १२ भारी फल्थ्यो, अव दुई पटक धान खेती गर्दा २४ भारी फल्ने भयो’ नरु भन्छिन् ‘यसले धान उत्पादनमा पनि बृद्धि हुने र बस्तुभाउलाई पराल पनि हुने भयो ।’ चैते धानवाली भित्र्याएर असारे खेतमा असारे धान रोपेका अर्का किसान निम कार्की आगामी वर्ष आफ्नो सबै जमिनमा चैते धान रोप्ने बताउँछन् । ‘यस वर्ष त हुन्छ कि हुन्न भनेर थोरै जमिनमा बिचार गरेको हुँ’ निम भन्छन् ‘राम्रो फल्ने रहेछ, अव त सबै जमिनमा लगाउँछु ।’ उनी सिचाई कुलोको अलि समस्या रहेको बताउँछन् । यदि सिचाईको उचित व्यवस्था गरिदिने हो भने यहाँका सबै किसानले दुई पटक धान खेती गर्ने निमको भनाई छ ।
सेती नदीको फाँटतिर चैते धानको राम्रो सम्भाना देखिएपछि परीक्षणको रुपमा यस वर्ष परीक्षणको रुपमा ५ हेक्टरमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी बताउँछन् । ‘पहिले त कृषकहरुले बिश्वासै थिएन, तर राम्रो फलेपछि उहाँहरु पनि उत्साहित हुनुहुन्छ’ अवस्थीले भने ‘चैते धान भित्र्याएर असारे धान रोपी पनि सक्नु भएको छ कृषकहरुले ।’
आगामी वर्ष चैते धान खेतीलाई बिस्तार गरिने र धान खेतीमा प्रविधिको बिस्तार गर्ने योजना रहेको अवस्थीले वताए ।