डोटी । डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएका कारण त्यसको नियन्त्रणका लागि जोखिमयुुक्त ठाउँमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुुख रमेश मलासीले बताए ।
पानी जम्न नदिने, जमेको पानी घोप्ट्याउने, निकासी गर्ने, लार्भा खोज्ने र नष्ट गर्न जिल्लाभर उक्त अभियान सञ्चालन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले घर, पसल, सार्वजनिक स्थान र छरछिमेकमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न अनुुरोध गरे । “केही वर्षअघिसम्म तराईका जिल्लामा डेङ्गुका बिरामी देखा पर्थे तर पछिल्लो केही वर्ष पहाडमा पनि बिरामी बढ्दै गएका छन्, ।
स्वास्थ्य कार्यालयको अगुवाइमा मुुख्य बजार दिपायलमा रहेका ग्यारेजबाट यो अभियानको थालनी गरिएको होे । अभियानमा स्थानीयवासीका साथै जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयवासीको सहभागिता रहेको थियो । जिल्लाका नौ वटै पालिका र त्यस अन्तर्गतका स्वास्थ्य संस्था तथा वडामा पनि यो अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार यस वर्ष ८१ जना डेङ्गुका बिरामी फेला परेका छन् । गत वर्ष २२ जनामा देखिएको थियो ।