धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पुरानै मन्त्रालय कायम राखेर सरकार छोड्ने तयारी गरेका छन् । बिभाजन गरी थपिएका ३ मन्त्रालय फेरी गाँभेर पुरानै ७ मन्त्रालय कायम गर्ने सोडारीको तयारी छ । पुरानै मन्त्रालय कायम गरेर सरकार छोड्ने उनले तयारी गरेका हुन् । भागबण्डा मिलाउनकै लागी गत असार १६ गते चारवटा मन्त्रालय फुटाएर ३ मन्त्रालय थप गरिएको थियो । जेठ २८ गते २ बिभागिय तथा ५ बिना बिभागिय मन्त्री बनाएका सोडारीले ५ जनालाई जिम्मेवारी दिन १६ गते मन्त्रालय फुटाएका थिए ।
१० सदस्यीय मन्त्रीमण्डल बनाएका सोडारीले एमालेले समर्थन फिर्ता लिएसगैं सरकार छोड्नुपर्ने स्थिती आएको हो । एमालेका ३ मन्त्रीले राजिनामा दिइसकेका छन् । प्रदेशमा कायम रहेका ७ मन्त्रालयबाट १० मन्त्रालय बनाएका सोडारीले अब फेरी ७ मन्त्रालयनै कायम राख्ने तयारी गरेका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत तथा सहरी विकास र पुर्वाधार बिकास मन्त्रालय बनाइएको थियो ।
सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय बनाइएको थियो । उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण तथा सहकारी र उद्योग, वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो । भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्रालयबाट सहकारीलाई बा वातावरणमा मिलाएपछि कृषि तथा भूमि सुधार मन्त्रालय कायम गरिएको थियो । अब पुर्ववत मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पुर्वाधार बिकास, आर्थिक मामिला, आन्तरिक मामिला तथा कानुन, सामाजिक बिकास, भुमी, ब्यवस्था कृषी तथा सहकारी र उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय कायम रहने जनाइएको छ ।
सरकारबाट बहिर्गमन हुने अवस्था आएपछि मुख्यमन्त्रीले मन्त्रालयको संख्या घटाएर साबिकै सातमा झार्ने मनस्थिति बनाएका हुन्। मुख्यमन्त्री सोडारीले मन्त्रालयको संख्या घटाउने बताइएको छ । उनले सबैतिरबाट मन्त्रालयको संख्या घटाउनुपर्ने सुझाव आएको बताए। ‘मन्त्रालयको संख्याको विषयमा भोलि बस्ने मन्त्रिपरिषद्को बैठमा छलफल हुन्छ’, उनले भने, ‘यो विषयमा धेरैतिरबाट सुझाव पनि आएको छ।’