धनगढी : कैलालीको कैलारी गाउँपालिकाका किसानहरुबाट पावर टिलर बाँड्ने भन्दै करोडौँरकम असुल गरेको पाइएको छ । कालीमाई सहकारीले मात्रै एक लाख १७ हजारका दरले २ सय किसानबाट रकम उठाएको पाइएको छ । सहकारीले सूचना जारी गर्दै बाल सशक्तीकरण नेपाल काडमाण्डौँले जिल्ला प्रशासन कार्यालय, कैलालीबाट कार्यक्रम सञ्चालनको अनुमति समेत लिएको पाइएन । बाल सशक्तीकरण नेपाल परियोजना सगंको सम्झौता सहकारीले रद्ध गरेको छ ।
सहकारीका अध्यक्ष अमृत चौधरीका अनुसार २ सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि एक लाख १७ हजारका दरले रकम सङ्कलन गरिएको छ । सहकारी संस्थाले किसानको रकम फिर्ता गर्न थालेको जनाएको छ । संस्थाका अनुसार संस्था सगंको सम्झौता रद्ध गरेर किसानको रकम फिर्ता गर्न लागिएको हो । यस्तै सुरो नेपाल संस्थासँग ७५ प्रतिशत अनुदानमा पावर टिलर र पानी मोटर वितरणको सम्झौता गरेको अखुवा कृषि सहकारी संस्थाले समेत किसानको रकम फिर्ता गर्न थालेको छ । शुक्रवार सहकारीले एक सूचना जारी गर्दै किसानको रकम फिर्ता गर्ने बताएको छ । सहकारी र सुरो नेपालको बिचमा २०८१ असार ११ गते सम्झौता भएको थियो । सुरो नेपालले प्रति किसानबाट किसानबाट एक लाख २५ हजार रुपैयाँ सङ्कलन गरेको छ ।