महेन्द्रनगर : चार दिनसम्म लगातार भएको बर्षाका कारण कुखुरा खोर डुवानमा पर्दा कञ्चनपुरका अजय चन्दका १० हजार कुखुरा मरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारामा अजय चन्दको खोरमै दश हजार बोइलर कुखुरा मरेका हुन् । विगत दश बर्ष देखि व्याक्तिगत ५ लाखको लगानीमा चन्दले कुखुरा पालन व्यावसाय गरेका थिए । सानो लगानीमा विस्तारै लगानी फस्टाउदै गएपछी चन्दले एक दशक पछि बैङ्कको कर्जा लिएर थप कुखुरा व्यावसाय गर्ने सोचका साथ अगाडि बढेका थिए ।
चन्दले संरचना तथा कुखुरामा डेढ करोड लगानी गरेर कुखुरा पालन गर्दै आएका थिए । दश कट्टा जमिनमा कुखुरा ब्यवसाय गर्दै आएका चन्दको सपना बाढीले उडाएको छ । हुर्की सकेका कुखुरा बेचेर मनग्य आम्दानी लिने सपनादेखेका चन्दको सपना बाढीले बगाइदियो । असार २४ गते राती परेको भारी वर्षाले चन्दका बेच्नकालागि तयार भईसकेका ४ हजार कुखुरा, हुर्काउदै गरेका ६ हजार कुखुरा गरी जम्मा १० हजार कुखुरा बाढीले मेरेका हुन् ।
आफ्नै देशमा केही गर्छु भनेर लागेका चन्दको कुखुराको फारममा बाढीले ठूलो क्षति पुर्याएपछि उनी निकै पीडित बनेका छन् । ५ लाखबाट व्यवसायलाई सुरु गरेका चन्द अहिले डेढ करोडको पुगेको बताउँछन् । तर, बाढीका कारण उनले ठूलो क्षति व्यहोर्नु परेको छ । आइतबार राति आएको बाढीले उनका सबै कुखुरा नष्ट गरिदियो । आफ्नो लगानी र बैंकको ५५ लाख ऋण लिएर उनले व्यवसाय बढाएका थिए । करिब २/३ केजी पुगेका कुखुरा कति डुबेर मरे त कति बाढीले बगायो ।
नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेँ । तर, बाढीले सबै डुबायो, चन्द भन्छन्, ुुफारम डुबाए पनि सपना अझै जीवितै छ । केही समय लागे पनि फेरि यहीँ काम गरेर अघि बढ्ने उनको सोच छ । आफ्नो जीवनमा पहिलोपटक यति ठूलो बाढी देखेको उनको भनाइ छ । फारम सञ्चालन गरेको १० वर्षमा यति ठूलो वर्षा नदेखेको उनले बताए । अहिलेसम्म पानी नपसेको फारम नै डुबेपछि भने उनी चिन्तित छन् ।