अछाम : लगातारको वर्षाका कारण जिल्लाका चौरपाटी गाउँपालिका र मङ्गलसेन नगरपालिकाका बस्ती जोखिममा परेपछि १९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । घर माथिबाट पहिरोको उच्च जोखिम भएपछि चौरपाटी गाउँपालिका–६ दुनीका नौ परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ । दुनीको सेलपाखा भन्ने टोलको माथिबाट जमिन भासिएपछि जोखिममा रहेका नौ परिवारलाई स्थानीय स्वास्थ्य चौकीको भवन राखिएको वडा अध्यक्ष डबल खड्काले जानकारी दिए ।
यस्तै, सदरमुकाम मङ्गलसेन नगरपालिका–८ सुतुडाका ९ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । घर माथिबाट पहिरो आउने जोखिम भएपछि आफन्तको घरमा स्थानान्तरण गरिएको हो । सडक माथिबाट पहिरो आएर घर पुरिने अवस्था देखिएपछि नौ परिवारलाई वरपरको आफन्तका घरमा राखिएको वडा अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराले जानकारी दिए ।
यसैगरी, वर्षाका कारण कमलबजार नगरपालिका–६ विरपथमा एक घर भत्किएकाले परिवारलाई अन्यत्र सार्ने काम भइरहेको बताइएको छ । स्वास्थ्य चौकीको भवनमा बसिरहेका परिवारको थप अवस्था बुझ्नका लागि एक टोली पठाइएको प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० शिव प्रसाद लम्सालले जानकारी दिए । पानी रोकिएपछि सुतुडाको पहिरोको व्यवस्थापनमा लाग्ने प्रजिअ लम्सालको भनाइ छ ।
अछामका ग्रामीण सडक वर्षाका कारण बन्द भएका छन् । झरीका कारण पहिरो, हिलो र ढुङ्गामुढा खसेका कारण ग्रामीण सडक अवरुद्ध भएका हुन् । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले सबैलाई आग्रह समेत गरेको छ ।