दार्चुला : निरन्तर वर्षाका कारण सीमा नदी महाकालीको सतह बढ्दै गएपछि सीमा नाकाका पुलहरू बन्द गरिएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गरी नेपाल–भारत सीमा नदी महाकालीमा लगाएका सबै झोलुङ्गे पुल बन्द गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा रोक लगाइएको जनाइएको छ । बिरामी र अतिआवश्यक काम बाहेकलाई नेपाल–भारत दुवै क्षेत्रमा आउजाउमा रोक लगाइएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।
जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत बन्द गरिएको हो । तीन दिनदेखि लगातार पानी परेको हुनाले महाकालीको बहाव निरन्तर बढिरहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गरी नदी किनारमा नजान सबै स्थानीयलाई आग्रह गरिरहेका छौ । सदरमुकाम क्षेत्रको महाकाली कोरिडोरमा बिहानैदेखि माइकिङ गरेर सबैलाई नजान र सबैलाई सचेत रहन भनिरहेको डिएसपी सिहले बताए । त्यस्तै निरन्तरको वर्षाका कारण महाकाली लोकमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको छ । बिहान सडक अवरुद्ध भएपछि पहिरो सफाईको काम चलिरहेको प्रहरीले जनाएको छ ।