बझाङ : सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँमा पसेको छ । बाढी पसेपछि गाउँ सेतीका दुई वटा भंगालोको बीचमा परेको छ । गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका छन् । ‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं, झ्याँबगरका स्थानीय समेत रहेका थलारा गाउँपालिका –९, का वडा अध्यक्ष लोकेन्द्र बिस्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ । जुन सुकै बेला पनि गाउँ बगाउन सक्छ।
बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घर भित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षक समेत रहेका अर्का स्थानीय नविनबहादुर बिस्टले बताए । ‘मान्छे र गाइबाख्रालाई तार्दा तार्दै नदीले घरहरु डुवाई हाल्यो, उनले भने, ‘टापुमा अडकिएका मान्छेलाई बल्ल बल्ल वारी तार्न सक्यौँ । घर भित्रको मालसामान केही ल्याउन पााएनौँ। बाढी पसेपछि विस्थापित भएकाहरु तुलनात्मक रुपले सुरक्षित रहेका आफन्तको घरमा बसिरहेको उनले बताए । बिहीबार देखि लगातार भैरहेको बर्षाका कारण सेती नदीको जलस्तर खतराको तहमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेवसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ । यो खतराको तह भएको वेवसाइटमा उल्लेख छ । शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जल सतह शनिवार साँझ सम्म निरन्तर बढेको बढ्यै छ । लगातारको बर्षा पछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुई वटा पोल बगाउँदा बझाङको विद्युत सेवा पनि अबरुद्ध भएको छ । सेतीका सहायक खोला र नदीमा पनि जलस्तर बढेका कारण नदी र खोला किनारका बस्तीहरुमा जोखिम बढेकोले सर्तक रहन जिल्ला प्रशाशन कार्यालयले शुक्रबार देखी नै निरन्तर सर्तकता सुचना जारी गरिरहेको छ ।