धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको घर डुबानमा परेको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेको सोडारीको घर क्षेत्रमा सुकुटी नालामा आएको बाढीले डुबान भएको हो।
कैलाली बहुमुखी क्याम्पसको पश्चिम हुँदै बग्ने सुकुटी नाला भरिएकाले मुख्यमन्त्री सोडारीको घरसम्म पानी पुगेको छ। अहिले मुख्यमन्त्री सोडारीको घरसहित शिवनगर क्षेत्रको बस्ती डुबानमा परेको छ। शिवनगर क्षेत्रमा सुकुटी नालाको पानी पसेको हो। धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले शिवनगर क्षेत्रका ४० घर डुबानमा परेको बताए। शिवनगरको खानेपानीको ट्याङ्की भएको क्षेत्र, न्यूरोड क्षेत्रमा डुबान भएको हो। सुकुटी नालाको पानी बस्तीमा आएकाले घरहरू डुबानमा परेका हुन्। सुकुटी नालाका कारण बसन्तटोलमा पनि ३५ भन्दा बढी घरमा पानी पसेको छ।