काठमाण्डौँ : नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बन्ने भएपछि त्यसको तयारी गर्न दुवै दलका दोस्रो तहका नेताहरू संवादमा जुट्ने भएका छन् । एउटा समीकरण हटाएर अर्को बनाउने भन्दा पनि संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा पुनर्विचार गर्ने, नागरिकमा देखिएको निराशालाई चिर्ने भन्दै साझा एजेन्डा निर्माणको तयारीमा नेताहरू जुटेका हुन् । पटक–पटकको अनौपचारिक छलफलपछि गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ३ घण्टा लामो छलफल भएको थियो । सोही छलफलमा २ दल मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको हो ।
दुई दल मिलेर नयाँ समीकरण बनाउने कसरत शनिबारसम्म देउवा र ओलीबीच मात्रै सीमित थियो । तर, आइतबारदेखि दुवै नेताले यो प्रक्रियामा दोस्रो तहका नेतालाई पनि सहभागी गराउन थालेको स्रोतले जानकारी दियो । ‘पटक–पटकका भेटघाटपछि देउवा र ओलीले शनिवार २ दल मिलेर सरकार गठन गर्ने गरी मोटामोटी सहमति गरेपछि यसको थप आधार तयार गर्न दुवै दलबाट दोस्रो तहका नेताहरू पनि सक्रिय हुन थाल्नुभएको छ,’ स्रोतले भन्यो, ‘दोस्रो तहका नेताले नयाँ समीकरण किन बनाइँदैछ भन्नेमा आधारसहित ड्राफ्ट तयार गरेपछि शीर्ष नेता फेरि बसेर अन्तिम रूप दिने तयारी छ ।’ कांग्रेसबाट देउवाले ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकलाई खटाएका छन् । एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेता यो प्रक्रियामा जोडिएका छन् ।
स्रोतका अनुसार यसपटकको नयाँ समीकरण सत्ताभन्दा निश्चित राजनीतिक उद्देश्यका लागि हुनेछ । ‘नागरिकमा चरम निराशापछि संविधान संशोधन गरेर निर्वाचन प्रणाली हेरफेर गर्ने, प्रदेशका विषयमा छलफल गर्ने, आर्थिक विकासका लागि साझा एजेन्डा तय गर्ने र भूराजनीतिक सन्तुलन अनुकूल हुने गरी परराष्ट्र नीतिमा समान मत बनाएर जाने गरी छलफल भइरहेको छ’ स्रोतले भन्यो । कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने चर्चा चलिरहेका बेला कांग्रेस सांसद दीपक गिरीले सोमवार प्रतिनिधिसभा बैठकमा उत्साह प्रकट गरेका छन् ।
‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताबीच चलिरहेको सघन संवादले आशाको सञ्चार गराएको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनका लागि यी २ ठूला दल मिल्न जरुरी छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न छलफल आवश्यक छ,’ गिरीले भने, ‘संविधान संशोधनका लागि अन्य दलसँग पनि छलफल आवश्यक छ । यसकारण यी २ ठूला दलको संवादबाट कोही विचलित हुन जरुरी छैन । यसलाई सकारात्मक रूपमा लिन आग्रह गर्छु । देउवाले ओलीको बालकोटस्थित निवासमै गएर छलफल गरेपछि दलहरूबीच भेटघाटको शृंखला बढेका छन् । सो भेटको तरंगपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आइतबार र सोमबार घण्टौंसम्म छलफल गरेका छन् । ओलीले देउवासँग भेटेपछि प्रचण्डले लामो कुराकानीमा के–के भयो भन्दै प्रश्न गरेका थिए । ओलीले ‘सिरियस संवाद भएको’ जवाफ दिएको स्रोतको दाबी छ ।
त्यसपछि प्रचण्डले ओलीलाई सोमबार पनि बोलाएर यही सत्ता समीकरण टिकाएर जाने, आवश्यक चासो सम्बोधन गर्ने बचन दिएको नेताहरू बताउँछन् । विकल्पमा प्रचण्डले ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने पनि बताएको स्रोतको दाबी छ । जनताको चरम निराशा, साना दलहरूको निरन्तरको बार्गेनिङ, स्वतन्त्रबाट जितेकाहरूको दबाबका बीच २ ठूला दल मिल्नुपर्ने स्थिति आएको नेताहरूको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअगाडि मात्रै पाँचै वर्ष सरकार चलाउने जादुयी नम्बर आफूहरूसँग भएको दाबी गरेका थिए । बजेट निर्माण, राजदूत फिर्तासहित अन्य नियुक्तिमा पनि ओली प्रचण्डसँग असहमत रहँदै आएका छन् । त्यसैले कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि ओली सकारात्मक भएका हुन् । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमाले अध्यक्ष ओलीले अब यो सरकारबाट पार लाग्दैन भन्ने मानसिकता बनाएको बताए ।
‘पछिल्लो समय हाम्रो सभापतिसँग ओलीजीको सकारात्मक संवाद भएको छ । उहाँ अहिलेको सरकारबाट अब पार लाग्दैन, नयाँ समीकरणतिर लाग्नुपर्छ भन्नेमा देखिनुभएको छ,’ उनले भने, ‘छलफल र संवाद चलिरहेका छन्, केही दिनमा नतिजा आउला ।’ देशमा बढ्दो अराजकतालाई रोक्न बलियो सरकार बनाएर जानेगरी संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्ने आवाज दुवै दलभित्र उठ्दै आएको छ ।
दोस्रो जनआन्दोलन सफल बनाउने र संविधान जारी गर्ने बेलामा पनि कांग्रेस–एमाले मिलेका थिए । त्यसैले नागरिकको निराशा चिर्न र अराजकता रोक्नका लागि २ दल मिल्न दबाब आएको नेताहरू बताउँछन् । ‘कांग्रेस र एमाले मिलेर खासखास अवस्थामा सरकार बनाएका छौं । कांग्रेस–एमाले मिल्दा २०७२ सालमा संविधान जारी गर्न सम्भव भयो,’ नयाँ गठबन्धनको प्रयास र औचित्यबारे स्रोतले भन्यो, ‘देशमा बढ्दो अराजकता रोक्नका लागि पनि बलियो सरकार बनाएर जाऔं भन्ने समझदारी हो ।’ एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका डा। शेखर कोइराला, गगन थापासहितका नेताले पनि दुई दल मिलेर निराश नागरिकलाई आशावादी बनाउने दिशामा लाग्नुपर्ने बताउँदै आएका छन् ।
तेस्रो ठूलो दलको रूपमा कांग्रेस र एमालेसँगको बार्गेनिङमा प्रचण्ड निरन्तर प्रधानमन्त्री बनेको, सत्तामै रहे पनि नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टी–स्टेट र विभिन्न भ्रष्टाचार काण्डमा छानबिन गर्छु भन्दै गृहमन्त्री रवि लामिछानेले पटकपटक घुर्क्याएको विषयले पनि कांग्रेस र एमाले आजित भएको बताइन्छ । यसअघि वैशाखमै कांग्रेस र एमाले मिल्ने तयारी निकै अगाडि बढेको थियो । तर, त्यतिखेरको प्रयास विफल हुन पुग्यो । त्यसैले केही समयको मौनतापछि दुवै दलले फेरि समीकरण बदल्ने विषयलाई अगाडि बढाएका हुन् ।
रविले केही समयअघि देउवापत्नी आरजुमाथि छानबिन गर्ने चेतावनी दिएका थिए । यतिमात्रै होइन, सहकारी ठगीमा नाम जोडिएपछि सत्तामै रहेका बेला लामिछानेले एमाले नेतृत्वमाथि पनि विभिन्न काण्डका नाममा छानबिन गर्ने दबाब बढाउँदै आएका छन् ।