काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्ताले राष्ट्रिय राजनीति तरङ्गित भएको छ । शनिबार दिउँसो करिब ३ घण्टा ओली निवास बालकोटमा उनीहरूबिच भएको वार्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयुबारे संशय पैदा गराएको हो । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले सार्वजनिक रूपमा सत्ता सहकार्यको वकालत गरिरहेका बेला देउवा र ओलीको भेटवार्ता अर्थपूर्ण बनेको देखिन्छ । एमाले अध्यक्ष ओली शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रम छोडेर देउवासँग संवादमा जुटेका थिए ।
ओलीले स्वास्थ्यमा सामान्य समस्या आएको भन्दै प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू सहभागी कार्यक्रमको उपेक्षा गरे । ओलीले देउवालाई आफ्नै निवासमा बोलाएर लामो कुराकानी गरेपछि सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । ओली–देउवा भेटपछि आइतबार प्रधानमन्त्री प्रचण्डले ओलीसँग वार्ता गरेका छन् ।प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगको छलफलपछि अध्यक्ष ओलीले सबैसँग छलफल भइराखेको प्रतिक्रिया दिएका छन् । यता कांग्रेस सभापति देउवाले पनि आन्तरिक छलफल तीव्र पारेका छन् । आइतबार बिहान देउवाले पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका थिए । देउवाले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि वातावरण निर्माणमा लाग्न पार्टीका नेताहरूलाई खटाएका छन् । ‘समसामयिक राजनीतिका विषयमा छलफल भएको हो । मुलुकको बृहत्तर हितका लागि दुई जना (ओली र देउवा) बिच संवाद भएको हो,’ लेखकले भने, ‘यो स्वाभाविक समसामयिक निरन्तर भइरहने भेट हो ।’
ओलीसँगको संवाद सकारात्मक रहेको भन्दै परिणामका लागि केही दिन हेर्नुपर्ने उनको भनाइ छ । ‘उहाँहरूबिच सकारात्मक संवाद भएको पाएको छु । अब हेरौँ । बिस्तारै सबै कुरा हुँदै जाला,’ लेखकले भने । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देउवा र ओलीको भेटवार्ता सामान्य राजनीतिक संवाद भएको बताए । उनले भने, ‘दुई नेता संवादमा बस्दैमा आशङ्का गरिहाल्नु हुँदैन । समसामयिक विषयमा सामान्य छलफल भएको हो,’ उनले भने । कांग्रेसका एक पदाधिकारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर जान सकिने परिस्थिति बन्ने बताए । उनले भने, ‘आजको भोलि नै सत्ता समीकरणमा फेरबदल ल्याउने तहमा छलफल भएको छैन । हिजोको संवादले सत्ता सहकार्यको ढोका भने खोलेको छ ।’
ती पदाधिकारीका अनुसार ओलीसँग आधा–आधा कार्यकाल प्रधानमन्त्रीमा आलो–पालो गर्न देउवा तयार देखिएका छन् । ‘सभापतिजीले मिलेर जान गरेको प्रस्तावमा ओलीजी सकारात्मक हुनुहुन्छ । अब दोस्रो तहका नेताबिच प्राविधिक कुरा मिलाउन संवाद अगाडि बढेपछि निष्कर्षमा पुगिन्छ,’ ती पदाधिकारीले भने । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि देउवा र ओलीबिच भेटवार्तालाई ‘आइसब्रेक’का रुपमा अर्थ्याए । ‘दुई वटा मुख्य राजनीतिक दलका सभापतिहरूको भेट स्वाभाविक कुरा हो । उहाँहरू ९देउवा र ओली०बिच संवाद नै नभइरहेको देखिन्थ्यो । शनिबारको भेट एउटा ‘आइसब्रेक’ जस्तो हो,’ उनी भन्छन् ।
कांग्रेस–एमाले एक ठाउँमा मुद्दा
संविधान संशोधनको एजेण्डा अगाडि सारेर लामो समयदेखि कांग्रेसको शेखर कोइराला–गगन थापा समूह कांग्रेस–एमाले सत्ता सहकार्यका लागि काफी तागत लगाइराखेको छ । नेता कोइराला, महामन्त्री थापा, नेता मिनेन्द्र रिजाल, गोविन्द पोखरेल लगायतले एमालेका नेताहरूसँग संवाद गरिरहेका छन् । उनीहरूले एमाले अध्यक्ष ओलीका साथै दोस्रो तहका नेतासँग पनि संवाद गरिरहेका छन् । संविधान संशोधनको एजेण्डासहित कांग्रेस र एमाले एक ठाउँमा आउने कोसिस भइरहेको देखिन्छ । कांग्रेसका नेताहरू संविधान संशोधन गर्न दुई तिहाइ आवश्यक पर्ने भन्दै कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउँदै आएका छन् । कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली पनि बेला–बेला निर्वाचन प्रणालीका सन्दर्भमा संविधान संशोधनको प्रसङ्ग उठाइराखेका हुन्छन् । कांग्रेसमा जस्तै एमालेका दोस्रो तहका नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरू पनि निर्वाचन प्रणाली परिवर्तनको पक्षमा निरन्तर बोलिराखेका छन् ।
संविधान संशोधनका लागि कांग्रेस र एमाले मिल्नुपर्नेमा कांग्रेस–एमालेमै बलियो मत छ । कांग्रेस र एमालेले मुख्यतः मिश्रित निर्वाचन प्रणालीलाई संविधान संशोधनको मुद्दा बनाएको पाइन्छ । प्रदेश सभाबाट समानुपातिक हटाउने र प्रतिनिधि सभाका समानुपातिकलाई राष्ट्रिय सभामा राख्ने तथा राष्ट्रिय सभाको अध्यक्षता उपराष्ट्रपतिलाई गर्न लगाउने गरी संविधान संशोधन गर्ने कांग्रेस र एमालेको तयारी छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत जुटाउन राप्रपा लगायतका दललाई साथ लिन सकिने दुवै दलको निष्कर्ष छ । नेताहरूका अनुसार निर्वाचन प्रणाली फेर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कांग्रेस र एमालेसँग एकमत देखिन्छ ।