डोटी : शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गरेका छन् । शिखर नगरपालिकाको कृषि शाखाले उनको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो । त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।
कृषक बलायर र खड्काको रोपाइँ गरिएको खेतमा गोरु जोतेर रोपाइँ गर्न गत वर्षहरूमा पूरै एक दिन समय लाग्थ्यो भने यस वर्ष चार घण्टाको अवधिमा रोपाइँ सकियो । हाते ट्याक्टरको प्रयोगले समय बचत हुनुका साथै गोरु पाल्नुुपर्ने झन्झट हटेको कृषक बलायरले बताए । “हाते ट्याक्टरको प्रयोगले हामी किसानलाई धेरै सजिलो भएको छ, उनले भने, “समयको बचत भएको छ । गोरु पाल्नुुपर्ने झन्झट हटेको छ । उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।”
पहाडमा पनि सजिलै हाते ट्याक्टरको प्रयोग गर्न सकिने कृषक खड्काले बताए । “ट्याक्टर सानो भएका कारण पहाडका साँघुरा गरामा पनि जोत्न सकिन्छ । यसको प्रयोग रोपाइँमा मात्र नभएर हरेक समय खेत जोत्न सकिन्छ,” उनले थपे । पछिल्लो समय जिल्लाका २५० भन्दा बढी किसानले हाते ट्याक्टरको प्रयोग गरी खेती गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले बताए । प्रदेश, स्थानीय सरकार तथा गैरसरकारी सङ्घ संस्थाले अनुदानमा ट्याक्टर उपलब्ध गराउन थालेपछि हाते ट्याक्टर प्रयोग गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको हो । हाते ट्याक्टरसँगै अन्य प्रविधि र कृषिसम्बन्धी ज्ञानको प्रयोग गर्दै प्रविधिमैत्री कृषि खेती गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै भएको अवस्थीले बताए । ज्ञान केन्द्रले धान रोप्ने मेसिन, धान, गहुँ चुट्ने थ्रेसरलगायत अन्य प्रविधिको पनि सफल परीक्षण गरिसकेको बताए ।
हाते ट्याक्टर वितरण
दुई वर्षमा २५० जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सहकारी मन्त्रालयले डोटीका १५० जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताए । यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले जिल्लाका ९० जना कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको छ ।
त्यस्तै कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा ६० वटा ट्याक्टर वितरण गरिएको छ । गत वर्ष कृषि विकास निर्देशनालयले ६० वटा ट्याक्टर, कृषि ज्ञान केन्द्रले ६० वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । गत वर्ष साइन नेपाल नामक गैरसरकारी संस्थाले ४० वटा हाते ट्याक्टर र केही थान थ्रेसर निःशुल्क रूपमा कृषि समूहलाई उपलब्ध गराएको थियो ।
ट्याक्टरको माग बढ्यो
जिल्लामा हाते ट्याक्टर, धान रोप्ने मेसिन, थ्रेसर, पोलीहाउसलगायतका सामग्रीको माग बढेको कृषि विकास निर्देशनालय निमित्त प्रमुख पनेरुले बताए । हाते ट्याक्टर पहाडमा सञ्चालन गर्न सहज र महिलामैत्री भएका कारण पनि माग बढ्दो हो । “यस वर्ष पाँच सयभन्दा बढी कृषकले हाते ट्याक्टरको माग गरेका थिए, उनले भने, “त्यसका लागि बजेटले भ्याएन । अर्को वर्ष पनि निरन्तरता दिने तयारीमा छौँ । युवा र महिला कृषकले ट्याक्टर खुबै रुचाएका छन् यसले कृषिमा युवा र महिलामा आकर्षण बढाएको छ ।” “गत वर्ष देखिएको ‘लम्पी स्किन,’ खोरेत रोगको महामारी फैलिएपछि धेरै गाईगोरुको मृत्यु भयो त्यस कारण पनि हाते ट्याक्टरको माग बढ्दै गएको हो,’’ कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख पनेरुले भने।