अछाम : अछाममा जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो । तरकारी खेतीतर्फ रामारोशन गाउँपालिका-४ का किसान भरतबहादुर विष्ट, फलफूल खेतीतर्फ मेल्लेख गाउँपालिका-६ का वीरबहादुर बोहरा र मसला बाली खेतीतर्फ तुर्माखाद गाउँपालिका(१ का नन्दराम बुढालाई सम्मान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख जसिराम सहानिले जानकारी दिए ।
उनका अनुसार प्रतिकृषक २० हजारका दरले पुरस्कृत गरिएको हो । उत्पादित कृषि वस्तुले बजार नपाउँदा किसानमा ऊर्जा हराउँदै गएको कृषकका बुढाले बताए । गत वर्ष करिब ४० क्विन्टल किवी उत्पादन भएको भन्दै उचित मूल्य र बजार नपाउँदा ठुलो नोक्सान भएको उनले जानकारी दिए।