धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका ३२ जना स्वास्थ्यकर्मीहरूले पाँच महिनादेखिको तलब पाएका छैनन। नगरपालिकाको जनस्वास्थ्य प्रर्वद्धन शाखा र मातहतका स्वास्थ्य संस्थाहरूका कर्मचारीले तलब सुविधा नपाएका हुन्। उनीहरूले फागुन महिनादेखिको ७० लाख रुपैयाँ भुक्तानी नपाएको बताएका छन्। नगरपालिकाबाट तलब सुविधा नपाएपछि दैनिक जीवन चलाउन समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्। उनीहरूले छोरा–छोरीको विद्यालय खर्च र शैक्षिक सामाग्री खरिद तथा खाद्य सामाग्रीको जोहो गर्नसमेत समस्या भएको बताएका हुन्।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीका लागि बजेट भुक्तानी नदिएपछि समस्या भएको नगरपालिकाले बताएको छ। मन्त्रालयको ससर्त अनुदानको बजेटबाट नगरपालिकाले तलब भुक्तानी दिने गरेको छ। नगरपालिकाका अनुसार तलब नपाएपछि केही स्वास्थ्यकर्मीहरूले कामसमेत छोडेका छन्।