बाजुरा : बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बास बस्न बाध्य भएका छन् । २०७९ माघ १० गते र २०८० असोज १६ गते गएको भूकम्पले चिराचिरा पारेका घर पुनर्निर्माण नहुँदा पीडित चर्किएको घरमा बास बस्न बाध्य भएका हुन् । भूकम्पले घर चिरा चिरा परे पनि कहीँकतैबाट पुनर्निर्माण सहयोग नपाएपछि तिनै घरमा बास बस्न बाध्य भएको छेडेदह गाउँपालिका–५ का स्थानीय जित सार्कीले बताए ।
उनले भने, “हिउँदमा यही चर्किएको घरमा बास बस्न सहज भयो । अब बर्खामा पानी परेपछि घर भत्किएर च्यापिने हौँ कि भन्ने चिन्ता छ, अन्त जाऊँ, कतै ठाउँ छैन । आफैँले घर निर्माण गरौँ भने पैसा छैन ।” भूकम्पले जोखिममा परेका घर पुनर्निर्माणका लागि आग्रह गर्दा पनि अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको सार्कीले बताउनुभयो । गौमूल, हिमाली, बुढीगङ्गा, बडीमालिकालगायतका अधिकांश घर २०७९ माघ १० गतेको भूकम्पले चिरा चिरा पारेको छ ।
२०८० असोज १६ गते गएको भूकम्पले ती चिरा चिरा पारेका घर भत्काइएको यहाँका स्थानीयवासीले बताएका छन् । यहाँका अधिकांश गाउँबस्तीमा प्रायः माटो र ढुङ्गाले घर निर्माण गरिएका छन् ।
पटक पटक गएको भूकम्पका कारण एक हजार चार सय घर पूर्ण भत्किएको र तीन हजार पाँच सय घर बस्नयोग्य नभएको जिल्ला रेडक्रस शाखा बाजुराले जनाएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले भने एक हजार ९८० घर मात्र पूर्ण रूपमा भत्किएको जनाएको छ ।