धनगढी : सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्यकर्मीलाई निमित्त निर्देशक तोकिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवस्तरिय निर्णयबाट आठौं तहका शिवराज सुनारलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। निमित्त निर्देशकमा जनस्वास्थ्यकर्मीलाई तोकिएपछि प्रदेशको मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आपत्ती जनाएको छ।
जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएकोप्रति उनीहरुले आपत्ती जनाएका छन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेश स्वीकृत दरबन्दी विपरित समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा जिम्मेवारी दिएको उनीहरुको भनाई छ।
‘कोरोना महामारीका बखत सोको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्दतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो। यसमा कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउँछौं’ मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारीले भने। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विगत चार वर्षदेखि रामप्रसाद ओझाले प्रमुखका रुपमा काम गरिरहेका थिए। उनले भने –‘मलाईनै प्रमुख बनाउनुपर्छ भन्ने मेरो माग होइन्। तर, प्रयोगशालाको जिम्मेवारी प्रयोगशालाकर्मीलाईनै दिनुपर्छ। यहाँ जनस्वास्थ्यकर्मीलाइ नेतृत्व दिनु उचित होइन्।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशकका रुपमा ११ औं तहको व्यक्तिलाई बनाउनुपर्ने गरि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) जारी भएको छ।