धनगढी । खानेपानीको मुहानमाथि डोजरले सडक खन्दा २८ लाख रुपियाँको लागतमा निर्माण भएको सतबाँझ लिफ्ट खानेपानीको मुहान सुकेको छ । सडक डिभिजन कार्यालयले सतबाँझ–बैतडी जोड्ने दशरथ चन्द लोकमार्गको चौडाइ बढाउने क्रममा डोजर चलाएर जमिन थर्किंदा दुई सय मिटर तल चौपातामा रहेको पानी सुकेपछि खानेपानीको हाहाकार भएको छ ।
उपभोक्ताले सडकमुनि खानेपानीको मुहान रहेकाले डोजर प्रयोग नगर्न आग्रह गरे पनि उपभोक्ताको कुराको बेवास्ता गर्दा अचेल पानीको मुहान सुकेको उपभोक्ता देवबहादुर चन्दले बताए ।
समुद्रीसतहबाट दुई हजार मिटर अग्लो स्थानमा रहेको सतबाँझ बजार क्षेत्रमा पानी आपूर्ति गर्न आठ वर्षअघि २८ लाख रुपियाँ खर्च गरेर लिफ्ट खानेपानी सञ्चालनमा आएको थियो । नियमित सञ्चालनमा रहेको खानेपानीको मुहान सडककै कारण सुकेको उपभोक्ताको गुनासो छ । मुहान सुकेपछि स्थानीय चिन्तित बनेका छन् ।
मुहानमाथिबाट सडक खन्दा पानीको धार परिवर्तन भई दुई सय मिटर तल छिरेको उपभोक्ताले बताएका छन् । सडक चौडा पार्ने क्रममा निस्केको ढुङ्गा, माटो टिप्परमा लगेर अन्यत्र फाल्न आग्रह गरे पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ ।
सडक खन्दा निस्केको माटोसमेत मुहानमै फाल्दा खानेपानीको इन्टेकको सुरक्षाका लागि निर्माण गरेको पर्खालसमेत भत्किएको छ । पानीको हाहाकार भएपछि उपभोक्ताले अहिले
कट्नोली खोलाबाट सानो विद्युतीय मोटर जोडेर २० एमएमको पाइपबाट अस्थायी व्यवस्था गरेको छ । डोजरले जथाभाबी सडक खन्दा जिल्लाको विभिन्न ठाउँमा खानेपानीका मुहानमा क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताए । विकास निर्माणका आयोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै काम अघि बढाउनुपर्ने उनले बताए ।
जिल्लाका १० वटा स्थानीय तहले जिल्लाको ८४ वडामा सडक पु¥याउन जथाभाबी डोजरको प्रयोग गरेर दुई हजार किलोमिटर सडक खनेको पाइएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताए ।