धनगढी । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–२ को नातीखोला टोलमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । दिनहुँ एक घण्टा पैदल हिँडेर खोलाको धमिलो पानी खान बाध्य भएका नातिखोला टोलका स्थानीयका लागि प्रदेश सरकारको आर्थिक सहयोगमा एक घरमा एक धारा निर्माण भएपछि हर्षित भएका हुन् ।
गाउँमा खानेपानी नहुँदा खोलाको धमिलो पानी ल्याएर खाने गरिएको थियो । अब घरको आगनमै स्वच्छ सफा खानेपानीको धारा निर्माण भएपछि खुसी लागेको हिमाली गाउँपालिका –२ नातिखोला टोलकी स्थानीय ज्येष्ठ नागरिक बिसुकला बुढाले बताए ।
आर्थिक वर्ष २०७८र७९ सालमा प्रदेश सरकारको बाह्र लाख रकममा नातीखोला टोलका ४० घरमा खानेपानीको धारा निर्माण गरिएको नातीखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष माना बुढाले बताए ।
गाउँदेखि झन्डै तीन किलोमिटर टाढा नातीखोला खानेपानीको मुहान छ । त्यसै मुहानबाट ल्याएको पानीले यहाँका ४० घरपरिवारको घरघरमा धारा निर्माण गरिएको हो ।
नातीखोलाको मुहानबाट ल्याएको पानी गाउँमाथि एक ट्याङ्की हालेको छ । अहिले त्यो ट्याङ्कीबाट यहाँका ४० परिवारको घरमा निर्माण गरिएको धारामा नियमित राम्रो पानी आउने गरेको बुढाले बताए ।
पुस्तौँदेखि गाउँमा खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको यती बेला घरघरमा खानेपानीको धारा निर्माण कार्य सम्पन्न भएको हिमाली गाउँपालिका–२ का वडा अध्यक्ष रणबहादुर बुढाले बताए ।
यहाँका स्थानीयको पहिलो प्राथमिकता सडक खानेपानी स्वास्थ्य शिक्षा भएकोले सोही अनुसार गाउँपालिकाले प्रत्येक वर्षमा रकम विनियोजन गर्दै आएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।