धनगढी: कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किएका खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन्। उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो। जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं। ९ चिल्तडास्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए।
असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो। पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए। सो घटनामा खच्चडहरुलाई उद्धार गर्ने कार्यमा अदम्य साहसका साथ कर्तब्यनिष्ठ भई उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्नु गरेका फराल र चौधरीलाई उत्कृष्ट कार्यको कदर स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ।
साथै उनीहरुलाई डीआईजी रबिन्द्र केसीले व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामना गरेका छन्।