काठमाडौँः करणी मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ। काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो।
सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको थियो। जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध उनकी पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन्। मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो। उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए।
न्यायाधीश पत्नी रावल न्यायको माग गर्दै लामो समय सडक संघर्षमा उत्रिएकी थिइन्। पतिबाटै बलात्कार भएको मुद्दा किनारा लाग्न ढिलाइ भएको आरोप लगाउँदै उनी २०८० असार १० देखि दुई महिनासम्म अनसन बसेकी थिइन्। उनले २०८० माघ १ देखि दोस्रो चरणको अनसन थालेकी थिइन्। सरकारले गाँस, बास, कपास र जिविकोपार्जन सहितको पिडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै हाल अनसनमा छन्। सोमबार सजाय निर्धारणको क्रममा तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने स्रेस्तेदार शर्माले बताए।